जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन् ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरुले सोचेको भन्दा बलियो रहेको बताए ।

राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने उनको भनाइ थियो ।

‘अफ्ठ्याराहरु त देशमा धेरैखाले छन् । त्यो अफ्ठ्याराहरुलाई हामीले पन्छाउँदै हिँडिरहेका छौँ । राजनीतिमा त अफ्ठ्यारा आउँछन् । एकमद स्मोथ, सहज बाटो त हुँदैन । अफ्ठ्यारा त आइरहन्छन् । त्यसलाई फेरि सल्ट्याउँदै अघि बढ्ने हो’ उनले भने।

अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीको बारेमा छलफल भएको बताए ।


क्लिकमान्डु