पूर्व शिक्षकले फलफूल खेतीबाट कमाए वर्षमा ३५ लाख



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक कृष्णजङ्ग रायमाझीले फलफूलखेतीबाट वार्षिक ३५ लाख आम्दानी गर्दै आएका छन् ।

तीस वर्ष शिक्षण पेसा गरेर अवकाश लिएका पूर्व शिक्षक रायमाझीले परीक्षणको रुपमा लगाएको केही बोट सुन्तला, कागती र जुनारले राम्रो उत्पादन दिएपछि उत्साहित भएर ५५ रोपनी जग्गा भाडामा लिएर फलफूल खेती गर्न थालेका हुन् ।

पाखोमा फलफूलको बिरुवा लगाउन झण्डै ८० लाख खर्च गरेका रायमाझीले दोस्रो वर्षदेखि वार्षिक ३५ लाख आम्दानी गर्न सफल भए ।

पहिलो पटक कागती ३० रोपनीमा, जुनार र सुन्तला १० रोपनी गरी जम्मा ४० रोपनीमा लगाएको रायमाझीले बताए ।

रायमाझीका छोराले पनि १५ रोपनी जग्गामा उस्तै व्यवसाय गरेका छन् । सबै गरेर ५५ रोपनीमा फलफूल खेती लगाएको उनले बताए ।

उनका अनुसार कागती सुन्तला र जुनार एक हजार बोट लगाएको तीन वर्ष भयो । दुई वर्षमै कागती बोटले थामी नसक्ने गरी फलेका छन् ।

रायमाझीका अनुसार पहिलो वर्षमा कागती पाँच हजार किलो फलेको थियो । त्यसबाट चार लाख बढी आम्दानी गर्न सफल भएको रायमाझीको भनाइ छ । अब उनीसँग दुई लाख बराबरको बिक्री हुन बाँकी छ ।

कागतीको माग बढेकाले भनेजति पुर्‍याउन नसकिएको रायमाझी बताउँछन् । उनका अनुसार भारतबाट आउने कागतीभन्दा चिसो ठाउँमा रहेको सिन्धुकोटकोको कागती लामो समय नबिग्रिने हुँदा व्यापारीले मनपराएका छन् ।

आगामी वर्ष १५ देखि ३० हजार किलो कागती उत्पादन हुने उनको अनुमान छ । ती कागतीको मूल्य २५ देखि ३० लाख पर्न आउँछ । सुन्तला र जुनार करिब १० लाख बराबरको बिक्री गरिसकेका उनले गत साल कागती, जुनार र सुन्तला गरी करिब १५ लाख आम्दानी गरेको बताए ।

पुस सुन्तला र जुनारको समय हो । आगामी वर्ष सुन्तला र जुनार गरेर १० लाख र कागतीबाट २५ लाखसम्म आम्दानी हुने उहाँको अनुमान छ ।

अबको दुई वर्षमा सबै लगानी उठिसक्नेसमेत किसान रायमाझीले दाबी गरे‍ । पूर्व शिक्षक रायमाझीको लगनशीलता र मेहनतलाई देखेर यस आर्थिक वर्षमा मेलम्ची नगरपालिकाले कोल्डस्टोर बनाउन पाँच लाख अनुदान दिएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए ।


क्लिकमान्डु