बिपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् ।

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि मंसिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका बुवा आमासँग पनि भेट गरेका हुन् ।

कतार बसाइँका क्रममा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुने छन् । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।


क्लिकमान्डु