राज्य र उपभोक्तालाई भार नपर्नेगरी सुधार गर्नुपर्छः सचिव दुवाडी



काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्य र उपभोक्तालाई भार नपर्नेगरी सुधार गर्नुपर्ने बताएका छन् ।

मुलुकको आर्थिक क्षेत्रमा सहज वातावरण निर्माणका लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्दै उनले यस्तो सुधारका क्रममा राज्यमाथि अतिरिक्त व्ययभार थपेर उपभोक्तामाथि पनि अन्याय गर्न नहुने बताए ।

नेपाल एलपी ग्यास उद्योग संघको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै सचिव दुवाडीले भने, ‘राज्यकोषमा भार नपर्ने तथा जनताले पाउने सुविधामा कटौती नगरी सबैखाले सुधार गर्न सरकार तयार छ ।’

उद्योगी व्यवसायीको पीरमर्का बुझ्ने माथिल्लो निकाय भनेकै आफ्नो मन्त्रालय रहेको उल्लेख गर्दै सचिव दुवाडीले देशमा व्यवसाय गर्ने वातावरण छ भन्ने अवस्था सिर्जनाका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

संस्थागत सुशासनको क्षेत्रमा सुधार गर्ने तथा जनतासँग जोडिएका विषयमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता उनले जनाए । सचिव दुवाडीले ग्यास उद्योगीले मापदण्डअनुसार ग्यास सिलिण्डरको गुणस्तर कायम राख्न तथा निर्धारित तौलअनुसारका ग्यासमात्र बिक्री गर्नुपर्ने बताए ।

भेटमा एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आगलागीजस्ता घटनामा कुनै अध्ययन अनुसन्धान नगरी ग्यास सिलिण्डरका कारण दुर्घटना भएको भन्नेजस्ता अफवाह फैलाइने गरिएका कारण बीमामा समस्या हुन थालेको दाबी गरे ।

अध्यक्ष घिमिरेले आगलागीका घटनापछि बीमाको लोभमा सिलिण्डर पड्किएर भन्ने कागजात बनाउन प्रहरी र स्थानीय जनप्रतिनिधिको मिलेमतो देखिएको भन्दै यस्तो विकृति  नियन्त्रण गर्नुपर्ने बताए ।

ग्यास प्रयोग सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनका लागि सरकार र व्यवसायीबीच यसअघि भएको सहमति कार्यान्वयन हुनुपर्ने संघको माग छ । भेटमा संघका पूर्वअध्यक्ष सावरमल अग्रवाल, वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ, सचिव अमित अग्रवाललगायत सहभागी थिए ।


क्लिकमान्डु