सामाजिक सञ्जालप्रति प्रचण्ड सरकार कठोर, टिकटकपछि बिगो लाइभ र स्न्यापच्याट प्रतिबन्धको तयारी



काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाएपश्चात सरकारले बिगो लाइभ र स्न्यापच्याटजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बीबीसी नेपाली सेवाका अनुसार टिकटकजस्तै प्रयोगकर्ताहरु लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका अनुसार बिगो लाइप, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य एपमाथि पनि सरकारले निगरानी बढाएको हो ।

रायमाझीले बीबीसी नेपाली सेवासँग भनेका छन्, ‘म तीनलाई सोसल होइन, एन्टी सोसल मिडिया भन्छु । तिनीहरुले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन् ।’

हाल सरकारले यस्ता एपहरुको प्राविधिक पक्ष र समाजमा यिनीहरुका कारण परेका सकारात्मक तथा नकारात्मक असर र प्रभावहरुको बारेमा अध्ययन गरिरहेको उनले बताएका छन् । उनका अनुसार सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्रामलगायतका एपमाथि निगरानी बढाएको हो ।


क्लिकमान्डु