७ वटा जहाज रहेको गुण एयरलाइन्स खारेजीको संघारमा, एयरलाइन्सले माग्यो अन्तिम मौका



काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्स खारजीको अन्तिम संघारमा पुगेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको हवाई सुरक्षासम्बन्धि शर्त पूरा गर्न नसकेका कारण पछिल्लो ९ महिनादेखि गुण एयरलाइन्स बन्द छ ।

कर्मचारीको दायित्व भुक्तानी गर्न नसकेको, बाँकी बक्यौता बढ्दै गएको र वायुसेवा कम्पनी आर्थिक संकटमा फसेकोले यसले हवाई उडान सुरक्षामा कजोरी गर्ने भन्दै प्राधिकरणले गत ८ फागुन २०७९ मा गुण एयरलाइन्सलाई उडानमा रोक लगाएको थियो।

एयरलाइन्सले कर्मचारीलाई गत फागुन अगाडिकै दुई महिनादेखि तलब-भत्ता खुवाउन नसकेको गुनासो प्राधिकरणसमक्ष पुगेको थियो । गुणको वित्तीय अवस्था कमजोर हुँदै जाँदा पाइलट, इन्जिनियर तथा कर्मचारीले नियमित पाउनुपर्ने तलब, अत्यावश्यक तालिम प्रभावित भएको र अत्यावश्यक पाटपुर्जा किन्न नसकेर उड्डयन सुरक्षा प्रभावित हुने भन्दै प्राधिकरणले उडानमै रोक लगाइदिएको थियो ।

प्राधिकरणले ६ महिनासम्मको लागि गुण एयरको उडान अनुमति (एओसी) निलम्बन गरेको थियो । एओसी निलम्बनमा परेको समय कटेको तीन महिनासम्म पनि पुनः उडान सुरु गर्न नसकेको र अझै उडानको सुनिश्चित आधार गुणले पेश गर्न नसकेको भन्दै प्राधिकरणले एओसी खारेज प्रक्रिया अघि बढाएको छ ।

‘निलम्बनमा परेको समय कटेको तीन महिनासम्म पनि पुनः उडान सुरु गर्न सकेको छैन,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले क्लिकमान्डुसँग भने, ‘अहिलेसम्म उडानको सुनिश्चित आधार पेस गर्न नसकेपछि एओसी खारेज प्रक्रिया अघि बढाइएको हो ।’

नागरिक उड्डयन निमायली २०५८ मा प्राधिकरणले ६ महिनासम्मलाई मात्रै उडान अनुमति निलम्बन गर्न सक्ने व्यवस्था छ ।
एओसी निलम्बनको उक्त व्यवस्थाअनुसार समय सकिएकोले एओसी खारेजीको प्रक्रिया अघि बढाइएको प्राधिकरणको भनाइ छ ।

एओसी खारेज गर्नुअघि सम्बन्धित वायुसेवालाई सफाइ पेश गर्ने मौका दिनुपर्ने व्यवस्था नियमावली छ । सोही नियमावलीअनुसार प्राधिरकणले गुणलाई अन्तिम मौका दिएको छ ।

एओसी निलम्बनमा परेको ९ महिनासम्म पनि वायुसेवाले पुनः उडान गर्ने नसकेको, कर्मचारीको दायित्व पूरा गर्ने नसकेको, प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी बक्यौता चुक्ता नगरेको, वायुसेवाले राखेको १ करोड बैंक ग्यारेन्टी जफत गरिएको सहितका कारण गुणको एओसी खारेज हुने सम्भावना अधिक रहेको प्राधिकरणको भनाइ छ । यद्यपी, गुण एयरलाइन्सले भने अन्तिम मौका मागेको छ ।

प्राधिकरणले बैंक ग्यारेन्टी जफत गरेपछि गुण एयरलाइन्सले ४ मंसिर २०८० मा एओसी जोगाइदिन र मन्त्रालयबाट इजाजतपत्र नवीकरणसमेत गराउनुपर्ने समय भएकोले सिफारिस दिन माग गरेको छ । गुणले प्राधिकरणलाई पठाएको उक्त पत्रमा गत महिनाबाट प्राधिरकणलाई तिर्न बाँकी रकम मासिक ५० लाख रुपैयाँका दरले तिर्ने प्रतिवद्धता गरेको छ । गुणले पहिलो पटक कात्तिकमा ५० लाख बुझाइसकेको र मंसिरमा पनि ५० लाख रुपैयाँ बुझाउने प्रतिवद्धता गरेको छ । प्राधिरकणलाई गुण एयरलान्सले करीब ५ करोड रुपैयाँ बुझाउन बाँकी छ ।

बैंक ग्यारेन्टीवापत १ करोड रुपैयाँ जम्मा गरेको र बाँकी रकमसमेत तिर्दै जाने प्रतिबद्धतासहित उडान अनुमति पुनः सुरु गर्न गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले माग गरेको पत्र प्राधिकरणमा पेस भएको छ ।

गुण एयारलाइन्सले इजाजत नवीकरण गर्नसमेत प्राधिकरणको बक्यौता रकम चुक्ता गर्नुपर्ने छ । प्राधिरकणले सिफारिश नगरेसम्मम मन्त्रालयबाट इजाजतपत्र नवीकरण हुँदैन भने सिफारिशका लागि प्राधिरकणको बाँकी बक्यौता चुक्ता गर्नुपर्ने हुन्छ ।

९ वर्षअघि घरजग्गा व्यवसायमा समस्या आएपछि गुण ग्रुपको नाममा सञ्चालित गुण एयरलाइन्सको बहुमत शेयर सिम्रिक एयरले किनेको थियो । करिब ७ वर्ष सिम्रिक एयरलाइन्सका नाममा उडेको जहाजलाई गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यले कोरोना महामारीपछि पुनः फिर्ता ल्याउन सफल त भए । तर, उचित व्यवस्थापन मिलाउन नसक्दा फेरि एयरलाइन्स डुब्ने अवस्थामा पुगेको हो ।

शाक्यले व्यवहारिकरुपमा संभाव्यता (कमर्सियल भायबल) नभएका जहाज खरिद गरेको र प्रतिस्पर्धी बजारमा टिक्न नसकेका कारण गुण एयरलाइन्स चलाउन नसकेको उड्डयन क्षेत्रका जानकाहरू बताउँछन् ।

’घरजग्गा व्यवसायबाट समस्यामा परेका उनले आफ्नो एयरलाइन्सलाई ‘बाउन्स ब्याक’ गरेर रिब्रान्डिङ गरेपछि बजार सुहाँउदो र अरु वायुसेवासँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने थियो,’ उड्डयन क्षेत्रका एक जनाकारले भने, ‘तर गुणले आउटडेटेड जहाज खरिद गर्नुले पनि थप समस्या सिर्जना गर्‍यो ।’

रिब्रान्डिङ गर्ने क्रममा यती एयरलाइन्सका ५ वटा जहाज खरिदमा १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएको गुण एयरलान्सको भनाइ छ । कम्पनीले ७ वटा जहाज जम्मा पारेको भए पनि एकैसाथ भने ४ वटासम्म मात्रै जहाज उडाउन सकेको थियो । यो वायुसेवाले जहाज उडाउँदा २ वटा डोर्नियरमा एउटामात्रै उड्ने र ५ वटा जेटस्ट्रिममा २ वटामात्रै उडाउन सकेको थियो ।

१९ र २९ सिट क्षमताका यसका जहाजले ७२ सिट क्षमताको अरु वायुसेवाका जहाजसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बन्यो । धेरै यात्रु बोक्ने वायुसेवाको भन्दा गुणका विमानको भाडादर महंगो भएपछि प्रतिस्पर्धामा समस्या भएको र यसले गर्दा टिक्न नसकेको प्राधिकरणकै अधिकारी बताउँछन् ।

गुण एयरलाइन्ससँग २ वटा १९ सिट क्षमताको डोर्नियर, ३० सिटको १ र २९ सिट क्षमताका ४ वटा जेटस्ट्रिम, ३० सिटको १ वटा जेटस्ट्रिम गरी ७ वटा जहाज छन् । यीमध्ये ५ वटा जेटस्ट्रिम नामका जहाज करिब ३ वर्ष अगाडिमात्रै यती एयरलाइन्ससँग खरिद गरेको थियो । यो वायुसेवासँग भएको अर्को २ जहाज भने सिम्रिक एयरलाइन्सबाट लिएको थियो ।

गुण एयरलाइन्सले भने ५ वटा जेटस्ट्रिम बिक्री गरेर नयाँ विकल्पको खोजी गर्न खोजेको छ । गुण एयरलाइन्समा २३० जना कर्मचारी छन् । जससध्ये पाइलट र कोपाइलट १०/१० जना गरी २० जना मात्रै छन् । यो वायुसेवाको सञ्चालन खर्च मासिक १ करोड रुपैयाँभन्दा बढी छ ।

गुण एयरलाइन्स्का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण श्रेष्ठले भने प्राधिकरणले तोकेको शर्त पूरा गर्ने चरणमा रहेको भन्दै आवश्यक प्रक्रिया पूरा गरेर जहाज उडाउने तयारी भइरहेको बताए ।

‘बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्रकृतिको जहाजको विकल्प खोजी भइरहेको छ भने भएकै जहाजबाट उडान सुरु गर्ने काम पनि सँगसँगै अगाडि बढेको छ,’ श्रेष्ठले क्लिकमान्डुसँग भने, ’जहाज उडाउने काम आजको भोलि नै हुन सक्दैन । आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले हो ।’

एओसी निलम्बनमा परेको ९ महिनासम्म पनि आफूहरु उडान सञ्चालनको काममा लागिरहेको उनको भनाइ छ । ‘एओसी निलम्बनमा परेको ९ महिनासम्म केही कामै नगरी बसेको होइन । एओसी नवीकरण गराउने र उडान सञ्चालन गर्न काम सँगसँगै बढिहेको छ,’ उनले भने, ‘प्राधिकरणले तोकेको शर्त पूरा गरेर फेरि उडान सुरु हुन्छ ।’


राजु बास्कोटा