बीमा कम्पनीविरुद्ध प्राधिकरणमा उजुरीको चाङ, कुन कम्पनीविरुद्ध कति उजुरी ?



काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीहरुविरुद्धको उजुरी बढ्न थालेको छ । समयमै उजुरीउपर प्राधिकरणले काम नगर्दा वर्षौंदेखि बीमितका उजुरी प्राधिकरणमा अलपत्र परेका छन् ।

भुक्तानीसम्बन्धी विवादलाई लिएर बीमितले बीमा कम्पनीविरुद्ध उजुरी प्रधिकरणमा दिँदै आए पनि समयमा फर्छ्यौट नहुँदा सयौं उजुरी अलपत्र पर्ने गरेका हुन् ।

बीमा ऐन २०७९ मा बीमकविरुद्ध परेको उजुरीमा प्राधिकरणले १५ दिनभित्र कारबाही अगाडि बढाइसक्नुपर्ने उल्लेख छ । तर, न्यून संख्यामा पर्ने उजुरीलाई समेत थाँती राख्दै आएको प्राधिकरण उजुरी फर्छ्यौटलाई लिएर उदासीन देखिएको छ  ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म २६० वटा उजुरीमा प्राधिकरणले ५२ वटामात्रै फर्छ्यौट गरेको छ । यो चार महिनामा ६७ वटा नयाँ उजुरी थपिँदा १९२ वटा उजुरी पुरानै थिए, जुन गत वर्ष नै फैसला भइसक्नुपर्ने थियो ।

यसरी थाँती रहेका उजुरीको संख्या गएको पाँच वर्षदेखि निरन्तर बढ्दो छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म २०६ वटा उजुरी फर्छ्यौट हुन सकेको छैन ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १८७ उजुरी परेकोमा ८५ वटामात्र फर्छ्यौट भए । यस्तै आव २०७६/७७ मा २२८ उजुरी परेकोमा प्राधिकरणले ९१ वटामात्र फर्छ्यौट गर्दा १३५ वटा थाँती रहे ।

उजुरी फर्छ्यौटमा ढिलासुस्ती गर्दा प्राधिकरणमा बर्सेनि पुराना उजुरीको संख्या बढ्दै गएको हो । आर्थिक बर्ष २०७७/७८ मा २७३ उजुरी परेकोमा ९३ वटामात्र फर्छ्यौट भए ।

आर्थिक वर्ष २०७८/७९ मा भने सुस्ताएको प्राधिकरण फैसला गर्ने काममा सक्रिय बन्न पुग्यो । सो वर्ष ३३८ वटा उजुरी परेकोमा १५२ वटा फर्छ्यौट भए ।

आर्थिक बर्ष २०७९/८० मा ३४१ वटा उजुरीमध्ये १४९ वटा फर्छ्यौट हुँदा प्राधिकरणले १९२ वटा थाँती राखेको थियो ।

प्राधिकरणका अनुसार फैसला हुन नसकेर थाँती रहँदै आएका उजुरी धेरैजसो निर्जीवन बीमा क्मपनीसँग सम्बन्धित छन् । बीमा दाबी भुक्तानीमा बीमकले आनाकानी गरेपछि बीमितले प्राधिकरणमा भुक्तानी पाउ भन्दै उजुरी दिने गर्छन् ।

प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी निर्जीवन बीमासम्बन्धी उजुरीको संख्यामा उल्लेख्य वृद्धि भएको बताउँछन् । ‘उजुरी बढ्दै जाँदा हामीले उजुरी उपर गरिने कारबाहीलाई पनि बढाउँदै लगेका छौँ, यद्यपि पुराना उजुरी फर्छ्यौटमा केही ढिलाइ भएकै हो,’ उनले भने ।

गएको पाँच वर्षमा निर्जीवन बीमातर्फ ४६३ वटा उजुरी पर्दा जीवन बीमातर्फ २११ उजुरी परेका छन् ।

यी कम्पनीविरुद्ध धेरै उजुरी

प्राधिकरणका अनुसार गत वर्षमा जीवन बीमातर्फ हिमालयन लाइफ इन्स्योरेन्सविरुद्ध सबैभन्दा धेरै उजुरी परेको छ । यो कम्पनीविरुद्ध बीमितले प्राधिकरणमा १० वटा उजुरी दर्ता गर्दा नेपाल लाइफ इन्स्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स र रिलायवल लाइफ इन्स्योरेन्सविरुद्ध ७-७ उजुरी परेका छन् । समग्रमा गत वर्ष जीवन बीमातर्फ १२ कम्पनीविरुद्ध ५१ वटा उजुरी परेका थिए ।

गत वर्ष १३ निर्जीवन बीमा कम्पनीविरुद्ध १०४ वटा उजुरी प्राधिकरणमा दर्ता भएका छन् । युनाइटेड अजोड इन्योरेन्सविरुद्ध सबैभन्दा धेरै उजुरी परेका छन् । यो कम्पनीविरुद्ध १२ वटा उजुरी पर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्सविरुद्ध ११-११ वटा उजुरी परेका छन् ।


क्लिकमान्डु