भारत मोबाइलमा आत्मनिर्भर बन्दै, ९ वर्षमा २० गुणाले बढ्यो मोबाइल उद्योग



एजेन्सी । भारत मोबाइलको क्षेत्रमा आत्मनिर्भर बन्दै गएको तथ्यांकले देखाएको छ ।

भारतीय सञ्चारमाध्यम भाष्करकाअनुसार भारतमा पछिल्ला ९ वर्षमा मोबाइल फोनको उत्पादन २० गुणाले बढेको छ ।

भारतका विद्यूतीय तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले गत शनिबार मोबाइल उत्पादनको विषयमा भएको समीक्षा बैठकपछि सामाजिक सञ्जाल एक्स (ट्विटर)मा पोस्ट गर्दै भारतमा मोबाइलको उत्पादन बढेको जानकारी दिएका छन् ।

वैष्णवकाअनुसार भारतमा बिक्री भएका ९९.२ प्रतिशत मोबाइल फोनहरु भारतमै बनेका छन् । २०२३ मा ९९.२ प्रतिशत स्वदेशी उत्पादनका मोबाइल फोनहरु प्रयोग भइरहेको भारतमा आजभन्दा ९ वर्षअघिसम्म भने अधिकतम फोनहरु अन्य देशबाट आयात हुने गरेको थियो । भारतमा सन् २०१४ सम्म ७८ प्रतिशत फोनहरु आयात हुन्थ्यो ।

हाल भने विश्वका शिर्ष कम्पनीहरुदेखि भारतीय स्वदेशी कम्पनीहरुले पनि भारतमा नै मोबाई फोनको उत्पादन गरिरहेका छन् । अन्तराष्ट्रिय टेक कम्पनी एप्पलले भारतमा आफ्ना आइफोनहरुलाई एसेम्बल गरिरहेको छ । एप्पलले आफ्नो उत्पादन कम्पनी फक्सकोनमार्फत फोनहरु भारतमा उत्पादन गरिरहेको छ ।

त्यस्तै, भारतमा चीनियाँ फोन कम्पनी साओमी, भिभो, वानप्लस, अप्पो तथा रियलमीका फोनहरु पनि उत्पादन भइरहेका छन् । सेमसंगजस्ता कम्पनीहरुले पनि हाल भारतमा नै फोन उत्पादन सुरु गरेका छन् ।

यो बाहेक भारतकै स्वदेशी कम्पनीहरु लाभा, इन्टेक्स, आईबललगायतले पनि फोन उत्पादन गरिरहेका छन् । हालसालै गुगलले पनि भारतमा नै आफ्ना पिक्सल फोनहरुको उत्पादन गर्ने घोषणा गरेको छ ।


क्लिकमान्डु