चार महिनामै १ अर्ब १३ करोड रुपैयाँबराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर निर्यात



काठमाडौं । सरकारले निर्यात अनुदान दिएपछि सिमेन्ट र क्लिंकर निर्यातमा भारी वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामै १ अर्ब १३ करोड रुपैयाँबराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर निर्यात भएको हो ।

सिमेन्ट निर्यातमा उच्च परिमाणमा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्ममा ३ करोड ५१ लाख २४ हजार रुपैयाँबराबरको ६६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।

चार महिनामा ५८ करोड ५७ लाख रुपैयाँबराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख रुपैयाँबराबरको ६ लाख ३१ हजार टन तयारी सिमेन्ट भारत निर्यात भएको छ । विभागका अनुसार कात्तिकमा मात्रै २७ करोड ७७ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।

गत आर्थिक वर्षको बजेटमार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सिमेन्टमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेपछि २०७९ साउनदेखि निकासी सुरु भएको हो । गत आर्थिक वर्षभरमा ७७ करोड ९३ लाखको सिमेन्ट र क्लिंकर भारत निकासी भएको थियो ।

नेपालबाट अहिले आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्डको सिमेन्ट र सौरभ समूहको मुख्य लगानी रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडको सर्वोत्तम ब्रान्डको सिमेन्ट भारत निकासी भइरहेको छ ।


क्लिकमान्डु