सरकारको नीतिले सिमेन्ट निर्यातमा छलाङः १५ महिनामा १ अर्ब ६३ करोडको निर्यात, कुन महिनामा कति ?



काठमाडौं । नेपालबाट १५ महिनामा डेढ अर्ब रुपैयाँभन्दा बढीको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि चालू आवको असोजसम्ममा १ अर्ब ६३ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको हो ।

गत वर्षभरमा ७८ करोड रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएकोमा चालु आवको तीन महिनामै ८५ करोडभन्दा बढीको निर्यात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत वर्षभरमा निर्यात भएको भन्दा बढी सिमेन्ट र क्लिंकर निर्यात भएको हो ।

गत वर्ष निर्यातमा अनुदान दिएपछि उत्साहित भएका व्यवसायीले यो वर्षको तीन महिनामै ८५ करोड ३० लाख रुपैयाँको सिमेन्ट र क्लिंकर भारत निकासी गरेका छन् ।

साउनदेखि असोजसम्मको तीन महिनामा नेपालबाट ४६ करोड ८९ लाख रुपैयाँबराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर र ३८ करोड ४० लाख रुपैयाँबराबरको ६ लाख ९ हजार ४४८ टन सिमेन्ट निर्यात भएको छ ।

नेपालबाट आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्डको सिमेन्ट र सर्वोत्तम सिमेन्ट भारत निकासी भइरहेको छ ।

त्यसमध्ये सर्वोत्तम सिमेन्ट एक्लैले ३१ करोडको सिमेन्ट निर्यात गरेको छ । साउन १५ गते भारतीय गुणस्तर चिह्न प्राप्त गरेको सर्वोत्तमले अढाइ महिनामै ३१ करोडको सिमेन्ट भारतमा बेचेको हो ।

नेपालबाट भारतका उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा सिमेन्ट तथा क्लिंकर निर्यात हुन्छ । भारतका राजस्थान र मध्य प्रदेशबाट ती प्रदेशमा सिमेन्ट आयात भइरहेकाले नेपाल सरकारले अनुदानको व्यवस्था गरेसँगै भारतका सिमेन्ट कम्पनीसँग प्रतिस्पर्धा गर्न सहज भएको नेपाली सिमेन्ट उद्योगीले बताएका छन् ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि सिमेन्ट निर्यातको वातावरण बनेको हो । अनुदान पाउने पक्का भएपछि तानसेनले २०७९ असारमै निर्यात थालेको थियो । साउनदेखि अर्घाखाँचीले पनि निर्यात थालेको हो ।

नेपालको सीमानाबाट १०० किलोमिटर परसम्म नेपाली सिमेन्ट सजिलै निर्यात गर्न सकिने र यस क्षेत्रमा २५ करोडभन्दा बढी भारतीय जनसंख्या भएकाले सिमेन्ट निर्यातको निकै ठूलो संभावना रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल बताउँछन् ।

‘सरकारले प्रोत्साहन गरेको अवस्थामा वार्षिक ६ खर्ब रुपैयाँसम्मको सिमेन्ट भारत निर्यात गर्न सकिन्छ,’ तानसेन सिमेन्टका सञ्चालकसमेत रहेका अग्रवालले भने ।

अहिले देशभर ६५ वटा सिमेन्ट उद्योग छन् । सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा र बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा आन्तरिक खपत निकै नै न्यून छ । कतिपय उद्योग सिमेन्टको माग कम भएर उत्पादन कटौती गर्नुपर्ने अवस्थामा छन् । तर, भारतीय बजारमा निर्यात गर्न थालेका सिमेन्ट उद्योगको भने व्यापार उच्चदरमा बढेको छ ।

सरकारले २०७९ कात्तिकमा निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ मार्फत सिमेन्टमा ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । त्यस्तै गत आर्थिक वर्षको बजेटमार्फत वार्षिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

निर्यात गर्न सम्बन्धित देशबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ । अहिलेसम्म तानसेन, अर्घाखाँची र सर्वोत्तमले भारतबाट गुणस्तर चिह्न लिएका छन् भने केही उद्योग लिने प्रक्रियामा छन् ।

कुन महिनामा कति निर्यात ?

२०७९ साउन – ४९ लाख

भदौ – ४० लाख

असोज – १ करोड २६ लाख

कात्तिक – १ करोड ३५ लाख

मंसिर – ९१ लाख

पुस – ४ करोड २० लाख

माघ – ८ करोड सात लाख

फागुन – १३ करोड ७६ लाख

चैत – ११ करोड ७६ लाख

२०८० वैशाख – १३ करोड १२ लाख

जेठ – १२ करोड ३२ लाख

असार – १० करोड २९ लाख

साउन – २३ करोड ५० लाख

भदौ – १८ करोड ३४ लाख

असोज – ४३ करोड ४५ लाख


क्लिकमान्डु