सिमेन्ट व्यापारमा छलाङ: तीन महिनामा ८५ करोडको निर्यात, सर्वोत्तमले एक्लै गर्‍यो ३१ करोडको निकासी



काठमाडौं । नेपालले सिमेन्ट र क्लिंकर व्यापारमा छलाङ मारेको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत वर्षभरमा निर्यात भएको भन्दा बढी सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष निर्यातमा अनुदान दिएपछि उत्साहित भएका व्यवसायीले यो वर्षको तीन महिनामै ८५ करोड ३० लाख रुपैयाँको सिमेन्ट र क्लिंकर भारत निकासी गरेका छन् ।

साउनदेखि असोजसम्मको तीन महिनामा नेपालबाट ४६ करोड ८९ लाख रुपैयाँबराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर भारत निर्यात भएको छ । त्यस्तै ३८ करोड ४० लाख रुपैयाँबराबरको ६ लाख ९ हजार ४४८ टन सिमेन्ट निर्यात भएको छ ।

गत वर्षको पहिलो तीन महिनामा २ करोड १५ लाख रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । चालू आवको तीन महिनामा निर्यात भएको सिमेन्ट तथा क्लिंकरको परिमाण गत वर्षभरमा निर्यात भएभन्दा बढी हो । गत वर्ष ७८ करोड रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो ।

सर्वोत्तम सिमेन्ट नै ३१ करोडको निकासी

अहिले नेपालबाट आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्डको सिमेन्ट र सर्वोत्तम सिमेन्ट भारत निकासी भइरहेको छ ।

त्यसमध्ये सर्वोत्तम सिमेन्ट एक्लैले ३१ करोडको सिमेन्ट निर्यात गरेको छ । सौरभ ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु न्यौपानेका अनुसार सर्वोत्तम सिमेन्टले साउन १५ गते मात्रै भारतीय गुणस्तर चिह्न प्राप्त गरेको हो ।

‘गुणस्तर चिह्न प्राप्त गरेपछिको अढाई महिनामा हामीले ३१ करोड रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात गरेका छौं,’ उनले क्लिकमान्डुसँग भने, ‘यो वर्ष २ अर्ब ४० करोड रुपैयाँको निर्यात गर्ने हाम्रो लक्ष्य छ ।’

अन्तर्राष्ट्रिय बजारले मूलतः भारतीय बजारले नेपाली सिमेन्ट स्वीकारेका कारण निर्यातमा सहज भएको उनले बताए । भारतीय बजार निकै ठूलो भएकाले नेपालले सिमेन्ट निर्यातमा धेरै गर्न सक्ने न्यौपानेको बुझाइ छ । ‘दुई-तीन वर्षको अवधिमै ५० अर्बभन्दा बढीको सिमेन्ट निर्यात हुने हाम्रो विश्वास छ,’ उनले भने ।

नेपालबाट भारतका उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा सिमेन्ट तथा क्लिंकर निर्यात भइरहेको छ । अहिले भारतका राजस्थान र मध्य प्रदेशबाट ती प्रदेशमा सिमेन्ट आयात हुने भएकाले सरकारले अनुदानको व्यवस्था गरेपछि भारतका सिमेन्ट कम्पनीसँग प्रतिस्पर्धा गर्न सहज भएको न्यौपानेले बताए ।

यसरी सुरु भयो निर्यात

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि सिमेन्ट निर्यातको वातावरण बनेको हो । नेपालमै क्लिंकर उत्पादन हुन थालेपछि लागत पनि कम पर्न थालेको थियो । अनुदान पाउने पक्का भएपछि तानसेनले २०७९ असारमै निर्यात थालेको थियो । साउनदेखि अर्घाखाँचीले पनि निर्यात थालेको हो ।

अहिले देशभर ६५ वटा सिमेन्ट उद्योग छन् । सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा र बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा आन्तरिक खपत निकै नै न्यून छ । कतिपय उद्योग सिमेन्टको माग कम भएर उत्पादन कटौती गर्नुपर्ने अवस्थामा छन् । तर, भारतीय बजारमा निर्यात गर्न थालेका सिमेन्ट उद्योगको भने व्यापार उच्चदरमा बढेको छ ।

सरकारले २०७९ कात्तिकमा निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ मार्फत सिमेन्टमा ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । त्यस्तै गत आर्थिक वर्षको बजेटमार्फत वार्षिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

निर्यात गर्न सम्बन्धित देशबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ । अहिलेसम्म तानसेन, अर्घाखाँची र सर्वोत्तमले भारतबाट गुणस्तर चिह्न लिएका छन् भने केही उद्योग लिने प्रक्रियामा छन् ।


क्लिकमान्डु