बुवालाई घरबाट निकालेका रेमण्डका मालिकले श्रीमती र छोरीलाई कुटेको आरोप
एजेन्सी । रेमण्डका अध्यक्ष अर्बपति भारतीय व्यापारी गौतम सिंघानियाले श्रीमती र छोरीलाइ कुट्ने गरेको आरोप लागेको छ ।
१ खर्ब ७६ अर्ब रुपैयाँका मालिक सिंघानियाले श्रीमती पत्नी नवाज मोदी र छोरी निहारिकालाई प्रताडित गरेको आरोप लागेको हो । नवाजले भारतीय सञ्चारमाध्यम इण्डिया टुडेलाई दिएको अन्तर्वार्तामा उनले यो विषयबारे बोलेकी हुन् ।
नजावकाअनुसार सिंघानियाले उनी र छोरी निहारिकालाई कुट्ने गरेका थिए र प्रहरी समेत बोलाउन दिँदैन थिए । आफूले रिलायन्स फाउन्डेसनकी अध्यक्ष नीता अम्बानीको सहयोगले प्रहरीलाई बोलाउन सकेको उनले बताएकी छिन् ।
नवाजकाअनुसार श्रीमान सिंघानियाले गत १० सेप्टेम्बरमा घरमा भएको जन्मदिनको पार्टीपछि उनीहरुमाथि मारपिट गरेका थिए ।
नोभेम्बर १३ मा सिंघानियाले सामाजिक सञ्जालमार्फत आफू श्रीमतीसँग अलग भएको बताएका थिए ।
उनले सामाजिक सञ्जालमार्फत श्रीमतीसँग छुट्टिएको जानकारी दिएका थिए । सिंघानियाको उक्त घोषणापछि नवाजले उनको कुल सम्पत्तिको ७५ प्रतिशत हिस्सा मागेकी थिइन् ।
गौतम सिंघानिया भारतीय व्यापारिक समूह रेमन्ड ग्रुपका अध्यक्ष हुन्, जो हाल १ खर्ब ७६ अर्ब रुपैयाँको मालिक छन् । रेमण्ड ग्रुपले हाल कपडा, डेनिम, इञ्जिनियरिंग र घरजग्गाको क्षेत्रमा काम गरिररहेको छ ।
यस अघि गौतम सिंघानियाले आफना ८५ वर्षीय बुवा पद्मभूषण विजयपत सिंघानियाबाट घर, व्यापार, पैसा र सबै थोक खोसेको आरोप छ । आज उनका बुबाको न घर छ न गाडी, एक एक पैसामा आश्रति छन् र भाडाको घरमा बस्छन् ।
गौतम सिंघानियाको बुबाको एउटै गल्ती थियो कि उनले आफ्नो १ खर्ब २० अर्ब भारतीय रुपैयाँको सम्पत्ति खुसीसाथ छोराको नाममा पास गरिदिएका थिए । बाबु विजयपतले उनका विरुद्ध अदालतमा मुद्दा हालेका छन् । विजयपत सिंघानियाले रेमण्ड ग्रुपको स्थापना गरेका थिए, जुन अहिले गार्मेन्ट क्षेत्रमा भारतमा मात्र नभएर विश्वमा नै प्रख्यात ब्रान्ड हो ।
गौतम सिंघानियाले सन् १९९९ मा नवाज मोदीसँग विवाह गरेका थिए । त्यतिबेला नवाज २९ वर्षकी थिइन् । विवाह अघि दुवैजना करिब ८ वर्ष प्रेम सम्बन्धमा थिए । वकिल नादर मोदीकी छोरी नवाजले पनि कानुन अध्ययन गरेकी छन् र जिम पनि चलाउँछिन् । सिंघानिया र नवाजका दुई छोरी छन् ।
मिडिया रिपोर्टहरुका अनुसार दिपावलीको अवसरमा दिइएको पार्टीलाई लिएर सिंघानिया र मोदीबीच विवाद भएको थियो । सिंघानियाले पुणेस्थित ठाणेको जेके ग्राम फार्म हाउसमा अवस्थित रेमण्ड स्टेटमा दिपावलीको पार्टी आयोजना गरेका थिए । पार्टीमा पत्नी नवाज मोदीलाई पनि बोलाइएको थियो । पार्टीमा सहभागी हुन सिंघानियाकी श्रीमती रेमण्ड स्टेट पुगेकी थिइन् । तर, उनलाई पार्टीमा सामेल हुनबाट रोकियो ।