अर्थमन्त्री र गभर्नरले दाबी गरेजस्तो अर्थतन्त्र सकारात्मक छैन: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै कर तिर्नेलाई सम्मान गर्नु सराहनीय भएकाे बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कर सप्ताह समापन समारोहमा अध्यक्ष ढकालले कर तिर्नेलाई गरिने सम्मानले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ्ने बताएका हुन् ।

अहिले कर तिरेर सम्मानित हुनेकाे संख्या बढ्दै गएकाे भन्दै उनले खुसी व्यक्त गरे । काेराेनाकाे समयमा अदालतले तत्काल राजस्व तिर्न नपर्ने भने पनि निजी क्षेत्रले कारकाे लक्ष्य भेट्न सहयाेग गरेकाे ढकालले बताए ।

केही दिनअघि सरकारले आयाेजना गरेकाे सर्वपक्षीय भेलामा अर्थमन्त्री र गभर्नरले प्रस्तुत गरेको तथ्यांकले सकारात्मक अवस्था देखिए पनि वास्तविकता त्यस्ताे नरहेकाे टिप्पणी उनले गरे ।

साना व्यवसायबाट सुरु भएकाे समस्या बैंकसम्म पुगेकाे ढकालकाे भनाइ छ । ‘खराब कर्जा बढ्दा नाफा घटेकाे छ, साधारण खर्च बढेकाे छ, जसले गर्दा सरकारले पाउने राजस्व अझै घट्दै जाने अवस्था छ,’ उनले भने, ‘सरकार यसमा बेलैमा सचेत हुनुपर्छ ।’

अहिलेकाे अवस्थामा अर्थतन्त्रमा सुधार भइनसकेकााले पनि समस्या समाधान हुन अझै समय लाग्ने उनकाे भनाइ छ । करका विषयमा कानुनी र प्रक्रियागत तथा पूर्वाधारतर्फ समस्या रहेकाे ढकालले औंल्याए । उनले आयकर ऐन संशाेधन आवश्यक भएकाे र भएका नीति कार्यान्वयन गर्न पनि आग्रह गरे ।

अहिले नेपालमा पर्यटक बढ्दै जाँदा पनि जनतामा विश्वास बढ्न नसक्नु समस्या भएकाे तर्क गरे । राष्ट्र बैंकले सिस्टम नबिगारी केही नीतिगत लचकता अपनाउन सके राम्रो हुने उनले बताए । ‘सरकार र राष्ट्र बैंकले प्रणालीमा समस्या नपर्ने गरी केही नीतिगत व्यवस्था गर्न जरुरी छ,’ अध्यक्ष ढकालले भने, ‘काम गरेकाे पैसा पाएनाैं भन्ने गुनासाे पनि सरकारले समाधान गर्नुपर्छ ।’

उनले ६ महिनापछि अग्रिम कर फिर्ता गर्नसमेत सरकारसँग आग्रह गरे । यसअघि, बैंक तथा वित्तीय संस्थाले सहजै कर्जा दिएकाे र त्याे पैसा घर, गाडी र जग्गामा मात्रै गएकाे भए पनि यसकाे गुण-दाेष सबैकाे बराबरी हुने तर्क ढकालकाे छ ।

सरकारले गरेकाे बृहत् छलफलकाे प्रभाव सेयर बजारमा परेकाे र हिजाेकाे काराेबारमा त्याे देखिएकाे उनले उल्लेख गरे । सरकार र राष्ट्र बैंकले नीतिगत सुधार गरेमा अर्थतन्त्र पुरानै अवस्थामा फर्किने उनको विश्वास छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकारलाई खर्च बढाउने नीति ल्याउन सुझाव दिए । ‘खर्च बढे सरकारकाे राजस्व बढ्छ । कर तिर्ने सहज वातावरण सरकारले बनाउनुपर्छ । कर तिर्न बाध्य पार्नुभन्दा पनि रहर लाग्ने वातावरण बनाउनुपर्छ,’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करकाे स्थायी नीति आवश्यक रहेकाे बताए । भन्सार दर बढ्दैमा कर नबढ्ने उनको भनाइ छ । ‘राजस्व बढाउन खुला सिमानामा विशेष निगरानी बढाउनुपर्छ,’ उनले भने, ‘कर छुटकाे ६ लाखकाे थ्रेस हाेल्ड पनि बढाएर ८ लाख पुर्‍याउनुपर्छ ।’

खाली पेटमा कसैले पनि कर तिर्न नसक्ने अध्यक्ष मल्लले तर्क गरे । अहिले महँगी बढेकाे भन्दै उनले यसमा विशेष ध्यान दिन सरकारसँग अनुरोध गरे । अहिले धेरै पसल बन्द भएकााले खुल्ने अवस्था सिर्जना गर्न पनि सरकारलाई उनले सुझाव दिए ।

कार्यक्रममा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र विभागका महानिर्देशक दीर्घराज मैनाली भने सहभागी छैनन् ।


क्लिकमान्डु