राजस्व सचिव र आईआरडीका डीजी अमेरिका गएपछि कर दिवसको कार्यक्रम आयोजना भएन



काठमाडौं । आन्तरिक राजस्व विभाग (आईआरडी) ले प्रत्येक वर्ष मंसिर १ गते कर दिवस आयोजना गर्दै आएको छ । तर, यस वर्ष कर दिवसका दिन विभागले कुनै पनि कार्यक्रम आयोजना गरेन । तिहारको ५ दिन लामो बिदापछि कार्यालय खुलेको गत शुक्रबार मंसिर १ गते कर दिवसको अवसरमा विभागले कुनै कार्यक्रम आयोजना नगरेको हो ।

राजस्व सचिव रामप्रसाद घिमिरे र आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी)को कर र लगानी सम्बन्धी कार्यक्रममा भाग लिन अमेरिका गएपछि विभागले बार्षिक रुपमा मनाउने कर दिवस सम्बन्धी कार्यक्रम रोकिएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

विभागले २०५८ सालपछि नियमित रुपमा मंसिर १ गते कर दिवस मनाउँदै आएको छ ।

‘देशभित्र महत्वपूर्ण र नियमित वार्षिक कार्यक्रम हुने समयमा मुख्य जिम्मेवार अधिकारीहरु विदेश भ्रमणमा नजानु राम्रो हो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, कर्मचारी साथीहरु अमेरिका भनेपछि हुरुक्कै हुन्छन् ।’

कर दिवसको अवसरमा विभागले उत्कृष्ट करदातालाई सम्मान गर्नुको साथैं कर सुधारका लागि विभागले गरेका कामहरुको जानकारी प्रकाशित गर्ने गरेको थियो ।

अर्थमन्त्रालयका एक अधिकारी राजस्व सचिव र विभागको महानिर्देशक अमेरिका भ्रमणमा गएपछि कर दिवस आयोजना प्राथमिकतामा नपरेको बताउँछन् ।

राजस्व सचिव घिमिरे र विभागका महानिर्देशक मैनाली कात्तिक २४ गते अमेरिका भ्रमणमा गएका थिए । अर्थमन्त्रालयका एक अधिकारीका अनुसार घिमिरे र मैनाली दुई दिने कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् ।

‘कर दिवस आयोजना गर्नु पर्छ भन्ने उहाँहरुलाई लागेको भए मंसिर १ गते नेपाल फर्किसक्नु हुन्थ्यो । वा आफू विदेशमा भएर पनि अन्य अधिकारीलाई जिम्मेवारी दिएर भए पनि कार्यक्रम आयोजना गराउन सकिन्थ्यो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, कर दिवस आयोजना गर्नु पर्छ भन्ने उहाँहरुको प्राथमिकतामा परेन । जसले गर्दा अमेरिकामा कार्यक्रम सम्पन्न भएपछि पनि उहाँहरु उतै हुनु हुन्छ ।’

अर्थ मन्त्रालयका ती अधिकारीका अनुसार राजस्व सचिव घिमिरे यो साताको अन्तिममा अमेरिकाबाट फर्किने भएपनि विभागका महानिर्देशक मैनाली भने अर्को साता मात्रै फर्किने छन् ।

‘अहिले प्राय सबै कर्मचारीका आफन्त अमेरिकामा छन् । अमेरिका पुगेको मौकामा विभिन्न ठाउँ घुम्ने तथा आफन्तसँग भेटघाट गर्ने योजना उनीहरुले बनाउँछन्,’ ती अधिकारीले भने, ‘त्यसैले अमेरिका पुग्ने प्राय कर्मचारी कार्यक्रम अवधी भन्दा लामो समय बस्ने गर्छन् ।’

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक अर्जुन भट्टराईले तिहार लामो बिदाका कारण मंसिर १ गते कर दिवस आयोजना हुन नसकेको बताए ।

‘हामीले यो वर्ष मंसिर ७ गते कर दिवस आयोजना गर्ने तयारी गरिरहेका छौं,’ भट्टराईले भने, ‘उक्त कार्यक्रममा अर्थमन्त्री, अर्थ सचिव सहभागी हुनु हुनेछ । राजस्व सचिव कहिले आउनु हुन्छ, हामीलाई जानकारी छैन । डिजी साप अर्को साता मात्रै आउनु हुन्छ ।’


क्लिकमान्डु