काठमाडौंमा विशेष सुरक्षा योजना: १० हजार प्रहरी तैनाथ, ९० भन्दा बढी ठाउँमा मोबाइल टोली
काठमाडौं । आज मंसिर ७ गतेको बिरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।
आज नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्ने बिरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए ।
बिरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको उनले जानकारी दिए ।
सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको उनको भनाइ छ ।
नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन खत्रीले आग्रह गरे । यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने उनको भनाइ छ ।
मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको उनको भनाइ छ ।
‘विशेष गरेर दुई समूहले फरक फरक ठाउँमा काठमाडौंको तीनकुने र बल्खुमा उहाँहरुसमेतको छलफलबाट जिल्ला सुरक्षा समितिले कार्यक्रम गर्न तोकेको छ । काठमाडौंमा ७ गते के हुन्छ भनेर विभिन्न सूचना र चासो आएको छ,’ उनले भने, ‘ यो विषयमा प्रष्ट्याउनैपर्ने हुन्छ । यी दुई कार्यक्रम मात्रै होइन, नेपाल प्रहरीले यसभन्दा अघि पनि विभिन्न कार्यक्रम हामीले नेपाल प्रहरी लगायत विभिन्न सुरक्षा निकायहरु एकीकृत रुपमा सुरक्षा योजना र अहिलेको काठमाडौंमा हुँदै गरेको बिरोध कार्यक्रम छ, र यसबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना बनाइएको छ ।’
तीनवटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाए लागू गरिसकेको उनले जानकारी दिए ।
‘तीन वटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाएर त्यसलाई हामीले लागू पनि गरिसकेका छौँ । विशेष गरी भोलिको कार्यक्रमलाई मध्यनजर गरी हामीले दुवै स्थानमा हुने कार्यक्रमको लागि समारोहस्थल र सम्भावित मानिसहरु भेला हुने विभिन्न ठाउँबाट र आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई स्मोथ गर्ने, उहाँहरुलाई शाीन्त सुरक्षाको अनुभुति दिलाउने हिसावले हाम्रा विभिन्न हाम्रो काठमाडौंमा सर्कल छ, सर्कल सेक्टरबाट हाम्रो तालुक कार्यालयबाट प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालयबाट आएका मद्दतहरुलाई हामीले पूर्ण रुपमा सुरक्षा दिनेगरी हामीले प्रवन्ध गरेका छौँ’ उनले भने ।
उनले कुनै संशय बिना आफ्नो दैनिक चलाउन सर्वसाधारणलाई अनुरोध गरे ।
‘आम नागरिकहरुलाई म कुनै पनि संशय बिना आफ्ना दैनिकीहरु चाहे कार्यालय होस्, चाहे विद्यालय होस् वा अरु कुनैपनि व्यवसाय गर्नको लागि ढुक्क भएर काम गर्न अनुरोध गर्छौं,’ उनले भने, ‘प्रहरी परिचालन हामी प्रभावकारी रुपमा तयारी गरेका छौँ । कसैले पनि शंका गरेर नडराउनु भए हुन्छ । प्रदर्शन गर्ने क्रममा सवारी आगमनमा केही अवरोध हुनसक्छ, त्यसमा ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन गर्नेछौँ । आफ्नो पेशा र दैनिकीमा जानेहरुलाई कुनैपनि अवरोध हुने छैन ।’
काठमाडौंका ९० भन्दा बढी ठाउँमा सुरक्षा निकायका मोबाइल टोली तयारी अवस्थामा रहने बताए ।
१० हजार प्रहरी तैनाथ
उपत्यकाको सुरक्षाका लागि प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति फिल्डमै खटाइएको छ । त्यस्तै सेनासहितको संयुक्त सुरक्षा संयन्त्रलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अपरेसन कमान्डका रूपमा खडा गरिएको छ ।
प्रसाईं नेतृत्वको अभियानले व्यवस्था परिवर्तनको मागसहित आन्दोलनका लागि देशका विभिन्न भागबाट मानिसहरु ल्याउने लगायतको काम गरिरहेकोले सरकारले व्यवस्थाविरोधी पक्षबाट अप्रिय घटना हुन सक्ने जोखिमको आकलन गरेर सुरक्षा संयन्त्रलाई हाई अलर्टमा राखेको छ ।
करिब १० हजार प्रहरी सुरक्षाका लागि तैनाथ हुनेछन् । प्रहरी प्रधान कार्यालयले कार्यक्रमकै लागि भनेर थप जनशक्तिलाई तयारी हालतमा राखेको छ। सशस्त्र प्रहरीले उपत्यकाका तीनवटै गण र सिनामंगलस्थित विपद् व्यवस्थापन गण मातहत सबै जनशक्तिलाई परिचालन गरेको छ।