उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ
काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँग छठको समापन गरिएको छ । तराई मधेससहित काठमाडौं उपत्यकाका नदी किनाराहरुमा छठपर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको थियो भने त्यसको भोलिपल्ट अर्थात आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन भएको हो ।
पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा छठपर्वको रौनक बढ्दै गएको छ । तराई-मधेसमा मात्र नभई मुलुकका सबै भू-भागमा छठपर्व मान्ने चलन विस्तार भइरहेको छ ।
गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको थियो । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।
छठपर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ।