फाइभ जी फोन किन्न चाहनुहुन्छ ? यी हुन् नेपाली बजारमा पाइने २४ हजारदेखि ३ लाखसम्मका फोन



काठमाडौं । प्रविधिको बढ्दो आविष्कार र खोजका बीच अहिले विश्वभरमा नै फाइभ जी नेटवर्कको विस्तार बढ्दै गएको छ । धेरै जसो देशहरुमा अहिले फाइभ जीको प्रविधिको सुरुवात भइसकेको छ । नेपालमा पनि फाइभ जी कतिपय ठाउँहरुमा प्रशिक्षणात्मक रुपमा सुरु भएको छ भने कतिपय ठाउँमा हुने क्रममा छ ।

बढ्दो फाइभ जीको विस्तारका बीच मोबाइल कम्पनीहरुले पनि फाइभ जी स्मार्टफोनहरुको उत्पादनलाई तीव्रता दिएका छन् । अहिले कम र सुलभ मूल्यमै पनि फाइभ जी स्मार्टफोनहरु बजारमा उपलब्ध छन् । कतिपय फाइभ जी फोनहरु त सस्तो मूल्यमा उत्कृष्ट सुविधाहरु समेत प्रयोगकर्तालाई दिने गरेका छन् । सँगै महंगो मूल्यमा उपलब्ध हुने फाइभ जी फोनहरुमा योसँगै अन्य सुविधाहरु पनि भेटिन्छन् ।

नेपाली बजारमा उपलब्ध रहेका फाइभ जीको सुविधा दिने फोनहरु कुन कुन हुन त? यसबारेमा हामीले बजारमा उपलब्ध रहेका र सुधिवाका हिसाबले उत्कृष्ट रहेका पाँच फोनहरुको सूची तयार गरेका छौं । यी सबै फोनहरुमा फाइभ जी सुविधासँगै अन्य विशेषता पनि रहेका छन्, जसको चर्चा यहाँ गरिएको छ ।

पोको एम सिक्स फाइभ जी

सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको फाइभ जी फोनको कुरा गर्दा पोको एम सिक्स फाइभ जीलाई छुटाउनै मिल्दैन । यो फोन हालसालै मात्रै नेपाली बजारमा लञ्च भएको हो ।

पोको ब्राण्डको फोन पोको एम सिक्स फाइभ जीको बजार मूल्य हेर्ने हो भने नेपालमा यसलाई २३ हजार ९९९ रुपैयाँ पर्न जान्छ । यो फोनको सुरुवाती मूल्य हो । यो मूल्यमा फोन फोन ६ जिबि र्‍‍याम र १२८ जिबि स्टोरेजसहित उपलब्ध छ । फोनको स्टोरेज तथा र्‍याम कस्तो प्रयोग गर्ने भन्ने कुराले फोनको मूल्यमा केही तलमाथि भने हुन सक्छ ।

यो फोनमा फाइभ जी सुविधा त छ नै, सँगै यसमा ६.७ ईञ्चको डिस्प्ले रहेको छ । आईपिएस एलसिडि डिस्प्ले रहेको फोनको स्क्रिन ९० हर्जको रिफ्रेस रेटसहितको रहेको छ । क्वालकम स्न्याप ड्रागन प्रोसेसर रहेको फोनमा ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा र ८ मेगापिक्सलका डबल रियर क्यामेरा रहेका छन् । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

रेडमी नोट १२ फाइभ जी र नोट १२ प्रो फाइभ जी

नेपाली बजारमा अहिले निकै चलेको ब्राण्ड हो रेडमी । सस्तो र सुलभ मूल्यमै उच्च सुविधा र विशेषतासहितका फोनहरु निर्माण गर्ने यो कम्पनीको बजारमा उपस्थिति निकै राम्रो छ । रेडमीको नोट १२ फाइभ जी र नोट १२ प्रो फाइभ जी पनि नेपाली बजारमा उपलब्ध रहेका फाइभ जी फोन हुन् ।

नोट १२ फाइभ जी बजेट फोन हो । अर्थात यसको मूल्य सुलभ रहेको छ । यो फोन नेपाली बजारमा सुरुवाती मूल्य २९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुन्छ । फोनमा ६.६७ इञ्चको १२० हर्जको रिफ्रेस रेटसहितको फुल एचडि डिस्प्ले रहेको छ । फोनमो स्नेपड्रागन फोर जेन वान प्रोसेसर रहेको छ भने क्यामेरामा फ्रन्ट क्यामेरा १३ मेगापिक्सल र रियर क्यामेरा ४८ मेगापिक्सलको रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

त्यस्तै, रेडमी नोट १५ प्रो फाइभ जीको कुरा गर्ने हो भने यो फोनको मूल्य ३८ हजार ९९९ रुपैयाँबाट सुरु हुन्छ । ६ जिबि र्याम र १२८ जिबि स्टोरेजसहित फोनको मूल्य ३८ हजार ९९९ रुपैयाँ पर्छ भने ४१ हजार ९९९ रुपैयाँमा ८ जिबि र्याम र २५६ जिबि स्टोरेजसहितको भेरियन्ट किन्न सहिन्छ । यो फोनमा ६.६७ इञ्चको १२० हर्जको रिफ्रेस रेटसहितको डिस्प्ले रहेको छ । त्यस्तै, फोनमा ५० मेगापिक्सलको सोनी आईएमएक्स७६६ सेन्सरसहितको प्राइभरी क्यामेरा रहेको छ भने ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा रहेको छ र २ मेगापिक्सलको म्याक्रो लेन्स पनि रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

रिएलमि ११ फाइभ जी

रियल ११ फाइभ जी पनि मध्यम मूल्यको फाइभ जी स्मार्ट फोन हो । यो फोनको ८ जिबि र्याम र २५६ जिबि स्टोरेजसहितको भेरियन्टको अहिले नेपाली बजारमा मूल्य ३९ हजार ९९९ रहेको छ ।

यो फोनका अन्य विशेषताहरुको कुरा गर्दा फोनमा ६.७ इञ्चको फुल एचडि प्लस आईपिएस एलसिडि डिस्प्ले रहेको छ, जसको रिफ्रेस रेट १२० हर्ज छ । फोनमा १०८ मेगापिक्सलको प्रमुख सेन्सरसहितको रियर क्यामेरा रहेको छ, जुनसँगै २ मेगापिक्सलको डेप्थ रेन्सर पनि पाउन सकिन्छ ।

प्रोसेसरमा भने फोनले मिडियाटेक डाईमेनसिटी ६१०० प्लस फाइभ जी प्रोसेसरको प्रयोग गरेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जसलाई ६७ वाटको फास्ट चार्जिंगबाट चार्ज गर्न सकिन्छ ।

वान प्लस नर्ड टु फाईभ जि र वान प्लस ९

वानप्लस पछिल्लो समयमा निकै रुचाईएको ब्राण्ड हो । नेपाली बजारमा यो ब्राण्डका थुप्रै फाईभ जि फोनहरु उपलब्ध छन् । हामीले भने मध्यम मूल्य र उच्च मूल्यका दुई फोनहरुलाई समावेश गरेका छौं ।

फाईभ जिमा वान प्लसको पहिलो फोनको वानप्लस नर्ड टु फाईभ जि । यो फोन दुई भेरियन्टमा रहेको छ । ८ जिबि र्याम र १२८ जिबि स्टोरेजसहित फोनको मूल्य ५९ हजार ९९९ रुपैयाँ रहेको छ भने १२ जिबि र्याम र २५६ जिबि स्टोरेजसहितको भेरियन्टको मूल्य ६९ हजार ९९९ रुपैयाँ रहेको छ ।

वान प्लस नर्ड टु फाईभ जिमा ९० हर्जको फ्लुईड एमोलेड डिस्प्ले रहेको छ । फोनमा तीन वटा रियर क्यामेरा रहेका छन्, जसमध्ये प्रमुख क्यामेरा ५० मेगापिक्सल रहेको छ ।

वान प्लस ९ को कुरा गर्दा यो फोनको मूल्य १ लाख ४ हजार ९९९ रुपैयाँ रहेको छ । फोनमा स्न्यापड्रागन ८८८ चिपसेट रहेको छ । फोनमा ६.५५ इञ्चको १२० हर्जको रिफ्रेस रेटसहितको फ्लुइड एमोलेड डिस्प्ले रहेको छ । फोनमा विश्व चर्चित क्यामरा ब्राण्ड हसेलबाल्डको क्यामेराको प्रयोग गरिएको छ । तीन वटा क्यामेरासहितको रियर क्यामेरा सेटअप रहेको फोनमा ४८ मेगापिक्सलको प्रमुख क्यामेरा रहेको छ । यो फोनमा ४ हजार ५ सय एमएएचको ब्याट्री रहेको छ ।

सेमसङ ग्यालेक्सी एस २३ अल्ट्रा

हुन त सेमसङका ग्यालेक्सी ए७३ फाइभ जी र ग्यालेक्सी एस २२ अल्ट्रामा पनि फाइभ जीको सुविधा छ । यी दुवै फोनको मूल्य हेर्ने हो भने क्रमशः ७५ हजार ९९९ रुपैयाँ र १ लाख ६९ हजार ९९९ देखि १ लाख ७९ हजार ९९९ रुपैयाँसम्म पर्न जान्छ ।

सेमसङको ग्यालेक्सी एस २३ अल्ट्रा भने पछिल्लो समयमा एन्ड्रोइड फोनहरुमा उत्कृष्ट मानिएको फोन भएकाले सूचिमा त्यसलाई समावेश गरिएको छ । हुन त सेमसङ एस २३ मात्रै पनि फाईभ जि फोन नै हो । यो फोनको मूल्य भने नेपालमा हाल १ लाख २७ हजार ९९९ रुपैयाबाट सुरु हुन्छ ।

तर, हाल बजारमा किन्न सकिने उत्कृष्ट मध्येको एक फाईभ जि फोन सेमसङको ग्यालेक्सी एस २३ अल्ट्रा फोनको मूल्य भने भेरियन्टअनुसार फरक छ । ८ जिबि र्याम र २५६ जिबि स्टोरेजसहितको भेरियन्टको अहिलेको बजार मूल्य १ लाख ९१ हजार ९९९ रुपैयाँ रहेको छ भने १२ जिबि र्याम र ५१२ जिबि स्टोरेजसहितको भेरियन्टको मूल्य २ लाख ९ हजार ९९९ रुपैयाँ रहेको छ ।

फोनमा ६.८ इञ्चको डाइनामिक एमोलेड टु एक्स डिस्प्ले रहेको छ, जसको रिफ्रेस रेट १२० हर्ज रहेको छ । रियर क्यामेरा र फ्रन्ट क्यामेरा गरि ५ वटा क्यामेरा रहेको यो फोनको रियर क्यामेरामा १२ मेगापिक्सलको अल्ट्रा वाईड लेन्स, २ सय मेगापिक्सलको वाईड एंगल क्यामेरा र दुई वटा १० मेगापिक्सलको टेलिफोटो लेन्स रहेका छन् । फोनमा १२ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।

त्यस्तै, यो फोनको प्रोसेसर हेर्ने हो भने यसमा क्वालकम स्न्यापड्रागन ८ जेन टु चिपसेटको प्रयोग भएको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ भने यसलाई ४५ वाटको वायर चार्जिङ तथा १० वाटको वायरलेस चार्जिङबाट पनि चार्ज गर्न सकिन्छ ।

हाल एन्ड्रोईड फोनहरुमध्येमा फाइभ जी प्रविधि चल्ने उत्कृष्ट र महंगो फोन पनि यहि नै रहेको छ ।

आईफोन १५ प्रो म्याक्स र आईफोन १४ प्रो म्याक्स

एप्पलका पछिल्ला आइफोनहरुमा फाइभ जीको सुविधा उपलब्ध रहेका छन् । आईफोन १४, आईफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्सलगायतका विभिन्न फोनहरुमा फाइभ जी सुविधा छन् । यहाँ भने हामीले एप्पलका दुई आइफोनलाई समावेश गरेका छौं।

पहिलो फोन हो आईफोन १५ प्रो म्याक्स । हाल नेपाली बजारमा उपलब्ध रहेको महंगो फोनमध्येको एक हो यो फोन । यो फोनमा फाईभ जि नचल्ने त कुरै भएन, सँगै अन्य थुप्रै सुविधाहरु पनि यो फोनमा छन् ।

नेपालमा आधिकारिक रुपमा एप्पलका उत्पादनहरु बेच्ने ईभो स्टोरकाअनुसार यसको सुरुवाती मूल्य भने २ लाख ३३ हजार ५ सय रुपैयाँ रहेको छ । यो मूल्यमा फोनको बेस भेरियन्ट अर्थात २५६ जिबि स्टोरेजसहितको भेरियन्ट किन्न सकिन्छ । १ टिबि स्टोरेजसहितको भेरियन्टको कुरा गर्ने हो भने यहि फोनको मूल्य ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ ।

आईफोन १५ प्रो म्याक्समा एप्पलका पछिल्ला अद्यावधिक गरिएका विशेषताहरु पनि फाइभ जीसँगै छन् । जसमा ४८ मेगापिक्सलको क्यामेरा, थप परिस्कृत बनाइएको डाइनामिक आइल्याण्ड, ब्याट्री ब्याकअपका लागि बढाईएको क्षमतालगायत रहेका छन् ।

त्यस्तै, आईफोन १४ प्रो म्याक्स पनि अहिलेका लागि महंगो फाइभ जी सुविधासहितको फोन हो । हालसालै एप्पलले आईफोन १५ सिरिज सार्वजनिक गरेको हुँदा आईफोन १४ सिरिजको मूल्य घट्ने पनि उच्च सम्भावना छ । विदेशी बजारमा हेर्ने हो भने मूल्य कम हुँदै गएको छ । तर, नेपालमा एप्पलका उत्पादन बेच्ने आधिकारिक बिक्रेताहरु ईभो स्टोर र ओलिज स्टोर दुवैमा भने अन्य देशमा जस्तो यसको मूल्यमा उच्च गिरावट आएको छैन ।

हाल आईफोन १४ प्रो म्याक्सको मूल्य २ लाख ७ हजार ९९० रुपैयाँदेखि सुरु हुन्छ । यसमा पसलहरुले केही छुट पनि दिईरहेका छन् । यो फोनमा ६.७ इञ्चको ओलेड डिस्प्ले रहेको छ भने एप्पलको ए१६ बायोनिक चिपसेटको प्रयोग भएको छ ।


क्लिकमान्डु