जथाभावी फूलको माला बेच्नेलाई आफ्नै गाडीमा राखेर तोकिएको स्थानमा पुर्याउँदै महानगर
काठमाडौ । सडक किनारमा बसेर फूलको माला बिक्री गर्नेलाई महानगर प्रहरी बलको सवारी साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामनसहित तोकिएको बिक्री स्थलमा पु¥याइँदैछ ।
तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानलाई तोकिएको बिक्री स्थलसम्म पुग्न कठिन भएकोले सवारी साधनबाट सहयोग गरेको जनाएको छ । यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ ।
‘काठमाडौँ महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा विक्री स्थलबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको हो । प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बेच्ने ठाउँको प्रबन्ध मिलाइएको छ ।’ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भने, ‘हामीले नेपाली फूल उत्पादकलाई फूल बेच्न अवरोध गर्दैनौँ । नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ ।’
किसानलाई स्वदेशी उत्पादन बिक्रीका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गर्दै प्रमुख शाहले, उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गरे । तोकिएका स्थानमा नेपाली फूलहरू मात्रै बिक्री गरिनेछ । यसका लागि महानगरपालिका, नेपाल फ्लोरिकल्चर एशोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्नेछ ।