शौर्य सिमेन्ट इण्डष्ट्रिजद्वारा ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ को आयोजना
काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिजले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ ।
यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्ने छन् । प्रतियोगिता ३ बिभिन्न चरणमा सम्पन्न हुने छ ।
पहिलो चरणमा सहभागी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट/ फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाट्सएप नम्बर ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका/नपा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाइएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेने कम्पनीले जनाएको छ ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्धोग भित्र नै संचालन हुने छ ।
अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्धोगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । उनीहरुले बनाएको चित्रकलाको मूल्यांकन निर्णायक समितिद्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिने कम्पनीले जनाएको छ ।
यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजारका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार उपलब्ध गराइने कम्पनीले जनाएको छ ।