निर्जी‍वन बीमा कम्पनीले गरे साढे १० अर्बको व्यापार, पोलिसी बिक्रीमा सलिको आक्रामक



काठमाडौं । १४ वटा निर्जीवन बीमा कम्पनीले साढे १० अर्ब बराबरको बीमा गराएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार यी कम्पनीले पहिलो त्रैमासमा ६ लाख ८१ हजार ४ सय ६४ वटा बीमा पोलिसी बिक्री गरि १० अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमाको व्यापारमा सगरमाथा लुम्बिनी इन्योरेन्स (सलिको) कम्पनी भने आक्रामक देखिएको छ । यो कम्पनीले १३ वटा कम्पनीलाई उछिन्दै सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको हो ।

प्राधिकरणका अनुसार लुम्बिनी इन्स्योरेन्सले पहिलो त्रैमासमा ७५ हजार ४ सय ७० वटा बीमा पोलिसी बिक्री गरेर १ अर्ब ३१ करोड रुपैयाँ कमाएको हो । असोज महिनामा मात्रै यो कम्पनीले २८ हजार ८ सय ३५ वटा बीमालेख जारी गरि ४० करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ ।

बीमा शुल्क आर्जनको रुपमा सगरमाथा इन्स्योरेन्स अगाडि आए पनि बीमालेख जारीका आधारमा भने सिद्धार्थ प्रिमियम इन्स्योरेन्स अगाडि छ । यो कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ६ करोड मूल्य बराबरको ७९ हजार ६ सय ९६ वटा बीमालेख बिक्री गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासमा साढे १० अर्ब कमाउँदा असोज महिना मात्रै भने ३ अर्ब ३६ करोड रुपैयाँ कमाएका हुन् । भदौ महिनामा ३ अर्ब ९ करोड रुपैयाँ कमाएका कम्पनीले असोजमा २७ करोड बढी रकम आर्जन गरेका हुन् ।

यस्तै लघुबीमक दुई कम्पनीले भने पहिलो त्रैमासमा ९१ लाख ८९ हजार रुपैयाँको व्यापार गरेका छन् । नेपाल माइक्रो इन्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ हजार ९ सय ७२ वटा बीमालेख जारी गरि सो शुल्क आर्जन गरेका हुन् ।


क्लिकमान्डु