राहत रकमको नमुना चेक समाउँदै बित्यो प्रधानमन्त्रीको आधा दिन



काठमाडौं । प्राकृतिक विपत्तिका बेला विभिन्न व्यावसायिक घराना र संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने गरेका छन् । कतिपयले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम त कतिपयले सामाजिक सेवाभावले व्यक्तिगत पैसा सहयोग गर्छन् ।

सहयोगी हातहरुले कोषको बैंकमा रहेको खातामा सहजै पैसा जम्मा गर्न सक्छन् । तर, सहयोगको प्रचारबाजीका लागि पहिला रकम घोषणा गर्ने, खातामा जम्मा गर्ने र पछि प्रधानमन्त्रीलाई भेटेर चेकको नमुना हस्तान्तरण गर्ने परिपाटी बढ्दै गएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मंगलबारको अधिकांश समय यस्तै नमुना चेक बुझ्दैमा बितेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्‍यो । कांग्रेस सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई उक्त रकम बराबरको नमुना चेक हस्तान्तरण गरेको छ ।

त्यसपछि आईएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल डेढ करोड रुपैयाँको नमुना चेक लिएर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवद्र्धित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरेको सहयोग रकमको चेकको नमुना प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् । नमुना चेक हस्तान्तरण गर्दा अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्यसचिव डा. बैकुण्ठ अर्यालसमेत थिए ।

त्यस्तै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल पनि बालुवाटार पुगेका थिए ।

मंगलबार नै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नमुना चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री प्रचण्ड सिंहदरबारमा भेटेर उपाध्यक्ष पम्फा भुसाललगायतका माओवादी नेताहरुले ५० लाख रुपैयाँको नमुना चेक बुझाएका हुन् ।

त्यसअघि प्रधानमन्त्रीलाई राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी नमुना चेक दिन पुगेका थिए । वाणिज्य बैंकका कर्मचारीद्वारा संकलित गरेको रकमसहित एक करोड रुपैयाँको चेकको नमुना प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।

मंगलबार बिहान नै बालुवाटार पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले २५ लाख रुपैयाँको नमुना चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए ।

यस्तै सूर्य नेपाल प्रालिले जाजरकोट भूकम्पप्रभावितलाई १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । सूर्य नेपालका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री प्रचण्डलाई मंगलबार नै नमुना चेक हस्तान्तरण गरेको छ ।

सोमबार पनि प्रधानमन्त्रीको अधिकांश समय चेकको नमुना बुझ्दै बितेको थियो ।


क्लिकमान्डु