विपद्‍मा जुट्यो देश: जाजरकोट भूकम्पपीडितका लागि दुई दिनमा ४३ करोड सहयोग



भारत सरकारले उपलब्ध गराएको राहत सामग्री ओसार्दै नेपाली सेना । तस्बिर : रासस

काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि दुई दिनमा करिब ४३ करोड सहयोग प्रतिबद्धता आएको छ । जाजरकोटको रामीडाँडा केन्द्र बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आइतबार साँझसम्ममा विभिन्न संघसंस्था र व्यक्तिले ४२ करोड ९५ लाख ८५ हजार २३ रुपैयाँ सहयोग प्रतिबद्धता जनाएका हुन् ।

सरकारी निकाय, प्रदेश सरकार, स्थानीय तह, विभिन्न राजनीतिक दल, निजी क्षेत्र, विदेशी निकाय तथा गैरआवासीय नेपालीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितलाई सहयाग गरेका हुन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच-पाँच करोड उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाखका दरले राहत दिने निर्णय गरिएको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो सहयोग रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावितको राहत तथा पुनःस्थापनामा एक करोड सहयोग गर्ने भएको छ ।

यस्तै बागमती र लुम्बिनी प्रदेश सरकारले डेढ-डेढ करोड सहयोग उपलब्ध गराउने भएका छन् । लुम्बिनी प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ ।

चीनले भूकम्पपीडितका लागि १० करोड रुपैयाँबराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । चीनले त्रिपाल, कम्बललगायत राहत सामग्री सहयोग गर्ने भएको हो । त्यस्तै भारतले १२ टनबराबरको टेन्ट, स्लिपिङ ब्याग, कम्बललगायत अत्यावश्यक सामग्री सहयोग गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले पार्टीका तर्फबाट सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने भएका छन् ।

नेपाली कांग्रेसका पूर्व सांसद दिव्यमणी राजभण्डारीले पनि जाजरकोट र रुकुमका भूकम्प पीडितलाई सघाउन प्रतिबद्धता गरेको पाँच लाख रुपैयाँ प्रदान गरेका छन् । उनले एकद्धार प्रणाली अन्तर्गत कांग्रेसको सबै रकम एकैपटक जाओस् भन्ने लक्ष्य लिएर पाँच लाख रुपैयाँको चेक कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ क्षपारेमा भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बसेका स्थानीय । तस्बिर : रासस

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्पपीडित प्रदान गर्ने घोषणा गरेका छन् । गण्डकी प्रदेशसभा सदस्य डिल्लाराम सुवेदीले एक महिनाको पारिश्रमिक भूकम्पप्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कोषमा एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

भूकम्प प्रभावितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक सहयोग गर्ने भएको छ । क्यानले आईसीसी विश्वकप टी-२० को एसिया छनोटअन्तर्गत आइतबार भएको फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितलाई प्रदान गर्ने भएको हो ।

ललितपुरको जावलाखेलमा आयोजना गरिएको गोदावरी मेलामा आइतबार बिक्री भएको टिकटबाट संकलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ ।

भूकम्पपीडितका लागि भरतपुर महानगरपालिकाले एक करोड सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै नवलपुरको मध्यविन्दु नगरपालिकाले दुई लाख सहयोग गर्ने भएको छ । सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् । बाह्रबिसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख  सहयोग प्रदान गर्ने निर्णय गरेका हुन् ।

पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा ५० लाख सहयोगको घोषणा गरेको छ । महानगरले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबापतको १३ लाख १५ हजार र बाँकी विपद् कोषबाट व्यहोर्ने गरी ५० लाखबराबरको राहत सहयोग गर्न लागेको हो ।

त्यस्तै भोजपुरको पौवादुङमा गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख सहयोग गर्ने भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिकाले पाँच लाख नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का ‘स्वघोषित’ अध्यक्ष आरके शर्माले दुई वर्षभित्र १० करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन् । उनले व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँ प्रदान गरेका छन् ।

उक्त कोषमा ‘स्वघोषित’ समितिका महासचिव बुद्धिसागर सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपानेले ५ लाख, युवा उपाध्यक्ष अब्दुल बसिदले ५ लाख, सचिव लोक दाहालले ५ लाख, उपाध्यक्ष गोविन्द श्रेष्ठले ३ लाख र कृष्णजीवी पन्थले २ लाख १११ रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । त्यस्तै उपाध्यक्ष डा. केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम र सचिव दयानिधि सापकोटाले एक-एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

भूकम्पबाट मृत्यु भएकाहरुलाई नलगाड नगरपालिकाको दल्लीमा सामूहिक दाहसंस्कारका लागि लगिँदै । तस्बिर : रासस

यस्तै गैरआवासीय नेपाली संघले सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपाल पर्वतारोहण संघले भूकम्पपीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले ३१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आरजु राइस मिलले भूकम्पपीडितका लागि ५ सय बोरा चामल पठाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने भएको छ । राप्रपाले पार्टीको तर्फबाट २५ लाख र संघीय तथा प्रदेशसभा सदस्यको एक महिनाबराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । त्यस्तै राप्रपा आँबुखैरेनी गाउँ कार्यसमितिले पार्टीका नेता तथा कार्यकर्ताबाट ४६ हजार १३५ रुपैयाँ संकलन गरेको छ ।

भूकम्पपीडितका लागि बैंक तथा वित्तीय संस्थाले पनि सहयोग घोषणा गरिरहेका छन् । अहिलेसम्म सिटिजन्स बैंकले २५ लाख, एनआईसी एशिया बैंकले ५१ लाख, प्राइम कमर्सियल बैंकले २५ लाख ५१ हजार र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

आईएमई लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्प प्रभावितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

यस्तै बुद्ध एयरले १ करोड, भाटभटेनी सुपर मार्केटले १ करोड ११ लाख ११ हजार १११ र एनसेल ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । भूकम्पपीडितलाई युनिलिभर नेपालले पनि राहत सामग्री उपलब्ध गराएको छ ।

एलए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठ र विद्या लिम्बूले भूकम्पमा आमाबुवा गुमाएका १० जना बालबालिकालाई कक्षा १२ सम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् । यस्तै नेपाल रिमेडिज लिमिटेडले एक लाख ट्याबलेड प्यारासिटामोल सहयोग गरेको जनाएको छ ।


क्लिकमान्डु