एनसेलको लघु चलचित्र प्रतियोगिताको अवधि थपियो, विजेतालाई १ लाख पुरस्कार



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजुबहिनी, दिदिभाइको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समुहले भाग लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक सबैले दिदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडियो अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्छ । भिडियोको कथा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्छ ।

उल्लिखित सबै कुरालाई ध्यानमा राखी सहभागीले दिदीभाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् । प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार पाउनेछन् ।

उत्कृष्ट भिडियो भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ । निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरी टेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको निर्णायक मण्डलले प्रतियोगितामा प्राप्त भिडियोको समीक्षा र मूल्यांकन गर्नेछ ।

सहभागी हुन इच्छुकको प्रतिक्रिया र अनुरोधका आधारमा प्रतियोगिताको भिडियो बुझाउने मिति कात्तिक २३ सम्म थप गरिएको छ । एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो ।


क्लिकमान्डु