कामना सेवाको वार्षिकोत्सव: ४१७ पिन्ट रगत संकलन



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकले आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा सम्पन्न रक्तदानमा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा ४० पिन्ट, मधेश प्रदेशको वीरगञ्ज शाखामा २३ पिन्ट, बर्दिबास शाखामा ३० पिन्ट रगत संकलन भएको थियो ।

त्यस्तै, नारायणगढ क्षेत्रको खैरहरी पर्सा शाखामा भएको रक्तदानमा ११० पिन्ट, पोखरा क्षेत्रको प्रस्र्याङ्ग शाखामा ४६ पिन्ट र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा ३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

सोही कार्यक्रम अन्तर्गत गत शनिवार बुटवल क्षेत्रको बुटवल शाखामा ७६ पिन्ट रगत संकलन भएको थियो । यसरी बैंकले कुल ४१७ पिन्ट रगत संकलन भएको जनाएको छ ।

वार्षिकोत्सवकै कार्यक्रम अन्तर्गत बैंकले कोशी प्रदेशको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति समेत प्रदान गरेको छ ।

उक्त छात्रवृत्ति रकम क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिने क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोख्रेलले बताए ।

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रवार देखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।


क्लिकमान्डु