राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत हुने, संस्थानका कर्मचारी रजिष्टारको कार्यालयमा



काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण हुने पक्का भएको छ । कम्पनीमा रुपान्तरणका लागि संस्थानको टोली दर्ताका लागि कम्पनी रजिष्टारको कार्यालय पुगेको हो ।

कम्पनीका प्रशासकीय अधिकृत कविप्रसाद पाठक दर्ता प्रकृया लामो भएका कारण आज र भोलि गरेर दुई दिनमा दर्ता भइसक्ने बताएका हुन् ।

यस अघि बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम संस्थान कात्तिक २२ गतेसम्म कम्पनीमा रुपान्तरण हुनुपर्ने व्यवस्था थियो । संस्थानले १६ कात्तिकमा मन्त्रिपरिषदको बैठकबाट हाल कायम पुँजीमा नै कम्पनीमा जान पाउने गरि स्वीकृति पाएको थियो । मन्त्रिपरिषदको निर्णयको पत्र शुक्रबार अर्थमन्त्रालयमा पुगेसँगै संस्थानको टोली दर्ता प्रकृयामा लागेको हो ।

संस्थानका प्रशासक पाठकले हाल कायम पुँजीमै दर्ताको प्रकृया अगाडि बढाइएको बताए । ‘पुँजी वृद्धि गरेर कम्पनीमा जाने भन्ने सल्लाह भए पनि हाल कायम पुँजीमै दर्ता अगाडि बढाएका छौँ,दर्ता पछि अब पुँजी वृद्धिको काम पनि अघि बढ्छ ।’

हाल संस्थानको अधिकृत पूँजी ५० करोड र चुक्तापूँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । हाल संस्थानमा नेपाल सरकार अर्थमन्त्रालयको २७.७७ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ।


क्लिकमान्डु