बढ्न सकेन वाणिज्य बैंकहरुको ब्याज आम्दानी
काठमाडौं । बैंकको आम्दानीको स्रोतमध्ये प्रमुख हो, खुद ब्याज आम्दानी । तर, चालु आवको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफासँगै आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी पनि घटेको छ ।
बैंकको खुद नाफा २८ प्रतिशतले घट्दा ब्याज आम्दानी भने ०.१३ प्रतिशतले मात्र घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको ब्याज आम्दानी ४९ अर्ब ५६ करोड १८ लाख ८२ हजार रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा बैंकहरुको ब्याज आम्दानी ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार रुपैयाँ थियो ।
बैंकहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ४ अर्बभन्दा बढी ब्याज आम्दानी हुने ३ वटा बैंक छन् । २ वटा बैंकको ३ अर्बभन्दा बढी छ भने ७ वटा बैंकको २ अर्बभन्दा बढी र ८ वटा बैंकको १ अर्बभन्दा बढी ब्याज आम्दानी छ ।
सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ४ अर्ब ८० करोड १५ लाख ८८ हजार रुपैयाँ छ । यस्तै नबिल बैंकको ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म खुद ब्याज आम्दानी घटेका बैंकहरुमा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ, सानिमा, सिटिजन्स, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड छन् ।
असोज मसान्तसम्म एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी १७.५४ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ६६ लाख ३४ हजार रुपैयाँमा झरेको छ ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको २०.५८ प्रतिशतले घटेर २०.५८ प्रतिशत, सिद्धार्थ बैंकको ७.४५ प्रतिशतले घटेर १ अर्ब ९६ करोड ९८ लाख ८१ हजार रुपैयाँ र सानिमा बैंकको ४.९२ प्रतिशतले घटेर १ अर्ब ५२ करोड १८ लाख ६४ हजार रुपैयाँमा झरेको छ ।
सिटिजन्स बैंकको ०.६२ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ६३ लाख ८४ हजार, माछापुच्छ्रे बैंकको ३.६५ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २२ लाख ३१ हजार रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.०९ प्रतिशतले घटेर १ अर्ब ३८ करोड ७५ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।
असोज मसान्तसम्म सबैभन्दा बढी खुद ब्याज आम्दानी हुने बैंकमा ग्लोबल रहँदा सबैभन्दा कम नेपाल एसबिआई बैंक छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड २० लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा सिभिल बैंक हिमालयन बैंकमा मर्ज भएको छ । त्यस्तै मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकमा, ग्लोबल आईएमईमा बैंक अफ काठमाडौं, एनसीसी बैंक कुमारीमा, नबिलमा नेपाल बंगलादेश बैंक र सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएको छ ।
अर्को बैंकलाई मर्ज गरे पनि बैंकहरुले प्रकाशित गरेको विवरणमा मर्ज भएका आएका बैंकहरुको गत वर्षको पहिलो त्रैमासको तथ्यांक नसमेटेका कारण कतिपय बैंकको खुद ब्याज आम्दानी बढेको देखिएको छ ।
(यसअघि सम्प्रेषित समाचारमा तथ्यांकगत त्रुटि भएकाले सच्याइएको छ ।- सम्पादक)