जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ८० पुग्यो, १४० घाइते



काठमाडौं । जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । भूकम्पमा १४० जना घाइते भएका छन् ।

भूकम्पमा परी जाजरकोटमा ४४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार भेरी नगरपालिकामा ३०, नलगाड नगरपालिकामा ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएका छन् । घाइते ५० जनाको जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ भने ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

त्यस्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल र चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । लगत्तै लगातार ४.८, ४.२ र ४.३ म्याग्निच्युडका परकम्प गएका थिए ।

भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । केही सडकहरू बन्द भएका छन् ।


क्लिकमान्डु