जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प, ३६ जनाको मृत्यु



काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी अन्य ४६ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । भूकम्पमा परी घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

भूकम्पका भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए । भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको हो ।

त्यसलगत्तै लगातार ४.८, ४.२ र ४.३ म्याग्निच्युडका परकम्प गएका थिए । भूकम्पबाट रूकुम पश्चिम र जाजरकोटमा बढी क्षति पुगेको छ । केही सडकहरू बन्द भएका छन् ।

यसैबीच, खोज, उद्वार तथा उपचार व्यवस्था प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित स्वास्थ्यकर्मीको टिम जाजरकोट जाने भएको छ ।

बिहानैदेखि घाइतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ वटा हेलिकप्टर परिचालन हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु