पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन



काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सुरु गरेको छ ।

बीमा ऐन २०७९ को बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीणर् गरेको हुनुपर्नेछ भन्ने व्यवस्थाअनुसार प्राधिकरणले पहिलो पटक अनलाइन परीक्षा सुरु गरेको हो ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले केन्द्रीय कार्यालय कुपण्डोल ललितपुरमा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालनको आरम्भ गरे ।

अध्यक्ष सिलवालले परीक्षामा सफल भई इजाजत पत्र पाउने बीमा अभिकर्ताले गर्ने व्यवसायबाट बीमासम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेन्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्राधिकरणको केन्द्रीय कार्यालयबाट आज पहिलो दिन सञ्चालित परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थी सहभागी भए । हाललाई एकपटकमा १०० जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ ।

परीक्षा सञ्चालन भएको मितिले ७ दिनभित्र परीक्षाफल प्रकाशन गरिने प्राधिकरणले जनाएको छ । जीवन बीमा अभिकर्ताको अर्को परीक्षा कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ ।

इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममार्फत बीमा अभिकर्ताको परीक्षाका लागि आवेदन दिने, एजेन्ट एक्जाम सिस्टमबाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीणर् हुनेले इजाजत पत्र शुल्क बुझाउने र सिस्टमबाटै इजाजत पत्र अनलाइनमार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।


क्लिकमान्डु