सेयर बजारमा दोहोरो अंकको गिरावट, कसले कमाए कसले गुमाए ?
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा दोहोरो अंकको गिरावट आएको भएपनि कारोबार रकम भने केही बढेको छ ।
बजार मापन गर्ने सूचक १०.८६ अंकले घटेर परिसूचक १८४७.७० बिन्दुमा रोकिएको छ । यो दिन २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको १०.५०, विकास बैंक १२.९०, वित्त १७.१६, जलविद्युत २१.५६, जीवन बीमा ३७.८०, माइक्रोफाइनान्स २५.४६, निर्जीबन बीमा ९०.७६, अन्य समूहको उपसूचक ८१.८७ अंकले घटेको छ । कारोबारमा होटल समूहको उपसूचक १९८.५९ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३.६८ अंकले बढेको छ ।
कारोबारमा चन्द्रागिरी हिल्स, हिमालयन लघुवित्त वित्तीय संस्था, सोल्टी होटलका लगानीकर्ताले कमाएका छन् भने सयपत्री हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै रावा इनर्जी, बुद्धभुमी नेपाल हाईड्रोपावर, सामलिङ पावर कम्पनी, सुपरमाई हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा आशा लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड १० लाख १० हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः प्राइम बैंकको संस्थापक सेयर र सोनापुर मिनरल्स एण्ड आयल रहेको छ । कारोबारमा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ ।