लाभांश घोषणापछि कुन-कुन बैंकको सेयर मूल्य बढ्यो, कुनको घट्यो ?
काठमाडौं । सेयर बजार लगातारजसो घटिरहेको छ । बजार घटिरहेका बेला आकर्षक लाभांश घोषणा गरेका बैंकको सेयर मूल्य पनि बढ्न सकेन ।
कतिपय बैंकले त साभारण सभा बोलाएर लाभांश पारित पनि गरिसकेका छन् । घट्दो बजारमा लाभांश बाँडिसकेका कम्पनीमा लगानीकर्ताको आकर्षण यसै पनि हुँदैन ।
अहिलेसम्म ६ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् । तीमध्ये ५ वटा बैंकले सभा गरेर लाभांश पारित गरिसकेका छन् ।
एभरेष्ट बैंकको साधारण सभा सकिएको छ । बैंकले असोज ३० गते सभा गरेको हो । बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र करसहित १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
साधारणसभापछि कम्पनीको सेयर मूल्य घटेको छ । बैंकको १० प्रतिशत बोनस सेयर समायोजन हुुँदा सेयर मूल्य प्रतिकित्ता ५१४ रुपैयाँ ५५ पैसामा झरेको थियो । मूल्य समायोजन हुनुअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६६ रुपैयाँ थियो ।
अहिले कम्पनीको सेयर मूल्य १७.१३ प्रतिशतले घटेर ४६९ रुपैयाँ रहेको छ । साधारण सभापछि भने २.१७ प्रतिशतले बढेको छ ।
माछापुच्छ्रे बैंकले असोज १८ गते साभारण सभा सकेको छ । साधारणसभाले १४ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभापछि कम्पनीको सेयर मूल्य घटेको छ । बैंकले दिएको १३.३० प्रतिशत बोनस सेयर समायोजन हुँदा कम्पनीको सेयर मूल्य २३२ रुपैयाँ ६६ पैसा थियो । समायोजनअघि कम्पनीको सेयर मूल्य २६३ रुपैयाँ ६० पैसा थियो ।
अहिले कम्पनीको सेयर मूल्य २२.४३ प्रतिशतले घटेर २०४ रुपैयाँ छ । साधारणसभायता कम्पनीको सेयर मूल्य ३.३१ प्रतिशतले घटेको छ ।
सिटिजन्स बैंकले पनि साधारणसभाबाट लाभांश पारित गरिसकेको छ । बैंकले असोज २६ गते साधारणसभामार्फत ५.७९ प्रतिशत नगद लाभांश पारित गरेको हो । साधारणसभापछि बैंकको सेयर मूल्य सामान्य घटेको छ । उक्त समयमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२ रुपैयाँ थियो । अहिले ०.५८ प्रतिशतले घटेर १७१ रुपैयाँ ५० पैसा छ ।
सानिमा बैंकले कात्तिक २ गते साधारणसभा बोलाएर लाभांश पारित गरेको छ । बैंकको सेयर मूल्य समायोजन भएभन्दा केही घटेको छ भने साधारणसभापछि मूल्य बढ्न सकेको छैन । बैंकले दिएको ९ प्रतिशत बोनस सेयर समायोजन हुँदा सेयर मूल्य प्रतिकित्ता २४७ रुपैयाँ ४३ पैसा थियो । समायोजनअघिको मूल्य भने २६९ रुपैयाँ ७० पैसा थियो ।
समायोजन भएको मूल्यलाई आधार मान्दा अहिले १.९९ प्रतिशतले घटेको छ । साधारणसभा भएको दिनको सेयर मूल्यलाई आधार मान्दा कम्पनीको सेयर मूल्य २.५३ प्रतिशतले घटेर प्रतिकित्ता २४२ रुपैयाँ ५० पैसा कायम छ ।
एनआईसी एशिया बैंकले असोज २८ गते साभारणसभा गरेर लाभांश पारित गरेको छ । बैंकको पनि मूल्य समायोजन भएको तुलनामा सेयर मूल्य घटेको छ । कम्पनीको २९ प्रतिशत बोनस सेयर समायोजन हुँदा मूल्य प्रतिकित्ता ५९० रुपैयाँ ३० पैसा थियो । समायोजनअघि भने प्रतिकित्ता ७६१ रुपैयाँ ५० पैसा थियो । समायोजन भएको मूल्यलाई आधार मान्दा ९.१६ प्रतिशतले मूल्य घटेको छ ।
साधारणसभा भएयता भने कम्पनीको सेयर मूल्य ५ रुपैयाँ २० पैसा बढेको छ । असोज २५ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ थियो भने सोमबार ५३६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।