भारतमा १५ दिनमा ६० प्रतिशत बढ्यो प्याजको मूल्य, नेपालमा के होला ?



फाइल तस्बिर

काठमाडौं । भारतमा प्याजको मूल्यमा उच्च वृद्धि भएको छ । एक सातामा मात्रै प्याजको मूल्यमा १८ प्रतिशतसम्म वृद्धि देखिएको छ ।

भारतको महाराष्ट्र राज्यको एग्रिकल्चर प्रोड्युस मार्केट कमेटीका अनुसार १५ दिनमा प्याजको मूल्यमा ६० प्रतिशतको वृद्धि देखिएको छ । भारतको राजधानी दिल्लीमा ५० रुपैयाँ प्रतिकिलो रहेको प्याज १५ दिनमा ७० रुपैयाँ प्रतिकिलो पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा प्याजको मूल्यमा २५ देखि ५० प्रतिशतसम्म बढेको छ ।

महाराष्ट्रमा पनि प्याजको मूल्य प्रतिकिलो ५० रुपैयाँभन्दा धेरै पुगेको छ । आगामी डिसेम्बर महिनासम्म यो मूल्यवृद्धि यथावत् रहने भारतीय निकायहरुले जनाएका छन् । बजारमा नयाँ प्याज आउन समय बाँकी रहेकाले डिसेम्बरसम्म प्याजको मूल्यवृद्धि उच्च रहनेछ ।

भारतीय बजारमा प्याज आपूर्तिमा १५ दिनमा ४० प्रतिशतको गिरावट आएको छ । प्रायः दैनिक ४ सय गाडी प्याज बजारमा आउनेमा अहिले २५० गाडीमात्र आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बजारमा १५ सय टन कम प्याज भित्रिरहेको छ ।

भारतको केन्द्र सरकारले गत अगस्टमै प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको थियो । यो व्यवस्था डिसेम्बर ३१ सम्म लागू हुने भारतीय निकायले जनाएका छन् ।

भारतमा गत अगस्टमा यो व्यवस्था लागू हुँदा नै नेपालमा प्याजको मूल्यमा उच्च वृद्धि देखिएको थियो । हाल पुनः भारतीय बजारमा प्याजको मूल्यमा वृद्धि हुँदा नेपालमा भारतबाट आयात भएर आउने प्याजको मूल्य पनि बढ्ने स्पष्ट छ ।

नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ । ९० प्रतिशतभन्दा धेरै प्याज भारतबाट नै आयात हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालमा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँको प्याज आयात भएको थियो, जसमध्ये ६ अर्ब ७५ करोड ९ लाख २२ हजार रुपैयाँको प्याज भारतबाट नै आयात भएको थियो ।

प्याजका लागि भारतमाथि नै निर्भर रहेकाले भारतमा प्याजको मूल्यमा हुने उतारचढावले नेपालमा निरन्तर प्रभाव पार्दै आएको छ । यसपटक पनि भारतमा प्याजको मूल्यमा वृद्धि देखिँदा नेपालमा पनि यसले असर पार्ने स्पष्ट रहेको जानकारहरु बताउँछन् ।


क्लिकमान्डु