कारबाही गरेकै डिस्ट्रिब्युटर्समार्फत चिनी आपूर्ति गर्दै सरकार, काठमाडौं आइपुग्यो ६३० क्विन्टल



काठमाडौं । बिक्री मूल्यभन्दा कमको बिलविजक जारी गरेको अभियोगमा कारबाही गरेको चिनीको मुख्य डिस्ट्रिब्युटर्समार्फत नै सरकारले चिनी आपूर्ति गरेको छ । महोत्तरीस्थित एभरेष्ट सुगर मिलबाट चिनी ल्याउन कसैले चासो नदेखाएपछि सरकारकै विशेष आग्रहमा कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकका सञ्चालक सन्तोष खेतानले बुधबार १२ बजे काठमाडौंमा ६३० क्विन्टल (६३ हजार किलो) चिनी भित्र्याएका हुन् ।

सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थोक विक्रेता संघ, खुद्रा व्यापार संघ र स्वदेशी चिनी उद्योगीसँग गरेको सर्वपक्षीय छलफलका क्रममा तोकेको मूल्यको सीमा रहेर खेतानले काठमाडौंमा भित्र्याएका छन् ।

खुद्रा व्यापार संघका सह-कोषाध्यक्ष ध्रुव अधिकारीका अनुसार यो चिनी मंगलबार नै काठमाडौंमा भित्र्याउने तयारी भएको थियो । तर, एभरेष्ट सुगर मिलबाट काठमाडौंसम्म ढुवानी गर्दा बाटोमा हुने जोखिमजन्य घटनाको ‘बीमा’को विषयमा कसैले जिम्मेवारी लिन नमानेपछि आउन सकेन ।

‘विभागले निर्धारणको मूल्यभित्र रहेर चिनी खरिद, महोत्तरीदेखि काठमाडौंसम्मको ढुवानी, लोड-अनलोड र त्यसपछि काठमाडौंमा अनलोड र फेरि खुद्रा विक्रेतासम्म पुर्‍याउने विषयमा टुंगो लागेको थियो,’ सह कोषाध्यक्ष अधिकारीले भने, ‘त्यसअनुसार चिनी खरिद गर्न खुद्रा व्यापार संघले आफ्ना सदस्य विक्रेताबाट रकम पनि संकलन गरेको थियो ।’

तर पछि ढुवानीको क्रममा हुने जोखिमजन्य घटनाको बीमाको विषयमा कसैले जिम्मेवारी नलिएपछि मंगलबार चिनी आपूर्ति हुन नसकेको अधिकारीले बताए । बीमाको कसैले जिम्मेवारी लिन नमान्दा चिनी नै काठमाडौंमा ल्याउन नसक्ने अवस्था सिर्जना भएपछि मंगलबार नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको थियो । बैठकमा थोक खाद्य किराना व्यवसायी संघ, खुद्रा व्यापार संघ, स्वदेशी चिनी उद्योगका प्रतिनिधिलगायत सहभागी थिए ।

‘बैठकमा सहभागी कुनै पनि सरोकारवालाले ढुवानीको क्रममा हुने जोखिमजन्य घटनाको बीमाको जिम्मेवारी लिने चासो देखाएनन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसपछि चिनीको मुख्य डिस्ट्रिब्युटर खेतानसँग कुरा गर्ने अनौपचारिक रुपमा छलफल भएको थियो ।’

छलफलमा सहभागी भएका खुद्रा व्यापार संघ र थोक खाद्य किराना व्यवसायी संघका प्रतिनिधिले खेतानसँग फोनमार्फत सम्पर्क गरेका थिए । मन्त्रालय स्रोतका अनुसार सुरुमा खेतानले अबदेखि आफू चिनी आपूर्ति गरी बिक्री नगर्ने अडान राखेका थिए । सरकारले गरेको कारबाहीका कारण खेतानले बिच्किएर चिनी ल्याउन नसक्ने जवाफ फर्काएका थिए ।

‘त्यसपछि खुद्रा र थोक विक्रेता संघका प्रतिनिधिले चाडवाडको समयमा बजारमा चिनी नहुँदा उपभोक्तालाई निक्कै कठिनाइ भएको सुनाएका थिए,’ मन्त्रालय स्रोतले भन्यो, ‘मानवीय संवेदनालाई बुझेर चाडवाडको समयमा उपभोक्तालाई सहयोग गर्ने उद्देश्यले सरकारले तोकेको मूल्य सीमाभित्र रहेर बीमासहित चिनी आपूर्ति गर्न आग्रह गरिएको थियो ।’

त्यसपछि खेतानले सरकारले निर्धारण गरेकै सीमाभित्र रहेर ढुवानी जोखिमसमेत व्यहोरेर चिनी आपूर्ति गर्न सहमति जनाएका थिए ।

खेतानले बजारमा चिनीको ठूलो अभाव भएको अवस्थामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सोचका साथ आफूले चिनी आपूर्ति गर्न सहमति जनाएको क्लिकमान्डुलाई बताए । ‘हेर्नुस् मैले कुनै अवैध काम गरेको छैन, अस्ति सरकारले छापा मारेको समयमा पनि मैले कुनै अवैध काम गरेको थिइन, गलत बुझाइका कारण त्यसबेला कारबाही भयो,’ उनले भने, ‘त्यो घटना मैले बिर्सिसकेँ । चाडवाडको समयमा अहिले बजारमा कसैले पनि चिनी पाएको अवस्था छैन । यस्तो बेला मानवीय  संवेदनालाई बुझेर सरकारकै मूल्य सीमाभित्र रहेर चिनी आपूर्ति गर्ने जिम्मेवारी मैले स्वीकार गरेको हो ।’

उक्त जिम्मेवारी स्वीकार गरी बुधबार १२ बजेभित्र ३ वटा मालवाहक ट्रकमा ६३ हजार किलो चिनी महोत्तरीबाट काठमाडौंको कुलेश्वरसम्म भित्र्याएको उनले बताए ।

खेतानका अनुसार खुद्रा व्यापार संघसँग आबद्ध रहेका र कर चुक्ता प्रमाणपत्रको आधारमा प्रति खुद्रा व्यापारीलाई ५ बोराको दरले चिनी उपलब्ध गराउन लागिएको छ । खुद्रा व्यापार संघले आफ्ना सदस्य पसलबाट सिफारिस भएको आधारमा मात्रै खुद्रा व्यापारीलाई यो चिनी उपलब्ध गराउन लागिएको खेतानले बताए ।

काठमाडौं आइपुगेको चिनीको ३ ट्रकमध्ये १ ट्रक ललितपुरको पाटन, १ ट्रक भक्तपुर र १ ट्रक काठमाडौंको उपभोक्ता हेर्ने गरी कुलेश्वरबाट चिनीको बोरा बिक्री गरिँदैछ ।

विभागले सोमबार गरेको सर्वपक्षिय छलफलको क्रममा महोत्तरीस्थित एभरेष्ट सुगर मिलबाट खरिद गर्दा खरिद मूल्य, मूल्य अभिवृद्धि कर, महोत्तरीदेखि काठमाडौंसम्मको ढुवानी खर्च, लोड-अनलोड, काठमाडौं आइपुगेपछि लोड अनलोडसहित प्रतिकिलो १११ रुपैयाँ ३५ पैसामा खुद्रा व्यापारीलाई उपलब्ध गराउनुपर्ने मूल्य निर्धारण गरेको थियो ।

खुद्रा विक्रेताले उक्त चिनीमा प्याकेजिङ, खुद्रा व्यापारीसम्मको ढुवानी र लोड-अनलोड गरी थप प्रतिकिलोमा २ रुपैयाँ ६५ पैसा जोडेर प्रतिकिलो चिनीको मूल्य ११४ रुपैयाँ बनाइएको थियो । यसमा खुद्रा विक्रेताको प्रतिकिलो १ रुपैयाँ नाफा जोडेर उपभोक्ता मूल्य ११५ रुपैयाँ निर्धारण गरिएको छ ।

अहिले खेतानले बीमा जोखिमको खर्च आफैले व्यहोर्ने गरी खुद्रा व्यापारीलाई १११ रुपैयाँ ८५ पैसामा प्रतिकिलोको दरमा चिनी उपलब्ध गराउन लागेको छ । यो चिनी खुद्रा विक्रेताले उपभोक्तालाई जनही १ देखि २ किलोका दरले ११५ रुपैयाँमै बिक्री गर्नुपर्ने विभागले मूल्य सीमा निर्धारण गरिदिएको छ ।

विभागले बढी मूल्य लिएर कम मूल्यको बिलविजक जारी गरेको अभियोगमा असोज ४ गते खेतानको कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकको गोदामबाट १४ सय बोरा (७० हजार किलो) बरामद गरेको थियो । यसका साथै ३ लाख रुपैयाँको जरिवाना पनि गरेको थियो ।

बरामद गरिएको चिनी साल्ट ट्रेडिङ कर्पोरेसनलाई सुपथ मूल्य पसलमार्फत बिक्री गर्न उपलब्ध गराइएको छ । कर्पोरेसन र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले उक्त चिनी ९७ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आएको छ ।


राजेश बर्मा