सिटिजन्स बैंकका सीईओको तलब भत्ता करिब २ करोड, राज्यलाई कति तिरे कर ?



काठमाडौं । सिटिजन्स बैंकले गत वर्ष प्रमुख कार्यकारी अधिकृत सीईओलाई १ करोड ९७ लाख ८५३ हजार रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

सीईओले उक्त रकम तलब भत्ता बापत पाउँदा राज्यलाई ८२ लाख ६६ हजार ५५० रुपैयाँ आयकर तिरेका छन् ।
उनको हातमा भने १ करोड १४ लाख ९२ हजार ३०३ रुपैयाँ परेको छ ।

बैंकले सीईओ तलब बापत ८४ लाख, भत्ता बापत ५४ लाख, दशैं भत्ता बापत ११ लाख ५० हजार र सञ्चय कोषमा ८ लाख ४० हजार जम्मा गरेको छ भने अन्य शिर्षकमा ३९ लाख ६८ हजार ८५३ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकमा गणेशराज पोखरेल सीईओ छन् ।

यस्तै बैंकले अन्य कार्यकारी पदाधिकारीहरुलाई ३ करोड ७८ लाख ६७ हजार ६०७ रुपैयाँ दिएको छ । त्यसबाट १ करोड १५ लाख ४२ हजार २९५ रुपैयाँ कर तिरेर २ करोड ६२ लाख ६५ हजार ३१२ रुपैयाँ पाएका छन् ।

बैंकले सीईओलाई चालक, इन्धन र मर्मत संभार सहित सवारी साधनको व्यवस्था गरिएको छ । त्यसै गरि वरिष्ठ प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत र अन्य कार्यकारी तहका कर्मचारीहरुलाई नियमानुसार इन्धन सहित सवारी साधन सुविधा उपलब्ध गराइएको छ ।

प्रमुख कार्यकारी अधिकृतलाई उपदान तथा सञ्चित बिदा वापतको रकम स्वीकृत अवकाश कोष नागरीक लगानी कोषबाट भुक्तानी गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका सम्पूर्ण कर्मचारीहरूलाई बैंकको कर्मचारी विनियमावली अनुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ । साथै निजका आश्रित परिवारका लागि समेत औषधोपचार बीमा गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत लगायत कार्यकारी तहका सम्पूर्ण अधिकृतहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली अनुसार मोबाईल फोन वापतको खर्च तथा अन्य सुविधा प्रदान गरिएको छ । बैंकका अध्यक्षलाई कार्यालय प्रयोजनको लागि सवारी साधन सुविधा प्रदान गरिएको छ ।


क्लिकमान्डु