एनसेलको आम्दानी सवा २ अर्बले घट्यो, एक वर्षको कमाइ साढे ३७ अर्ब



काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल एक्जियटाको आम्दानी घटेको छ । कम्पनीको आम्दानी सन् २०२२ को तुलनामा सन् २०२३ मा घटेको हो ।

कम्पनीले सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२३ मा कम्पनीले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को आम्दानी गरेको छ । यो सन् २०२३ मा २ अर्ब २८ करोड ३० लाख रुपैयाँ कम हो ।

कम्पनीले सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २००१ मा स्पाइस नेपाल प्रालिको रुपमा स्थापित कम्पनीले सन् २००५ मा व्यवसाय सुरु गरेको थियो । कम्पनीले सुरुमा मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको थियो ।

युरोपियन टेलिकम जाइन्ट टेलियासोनेराले स्वामित्व लिएपछि कम्पनीले ‘एनसेल’ ब्रान्डको नाममा सेवा दिँदै आएको छ । साथै, कम्पनीले सन् २०१६ मा एनसेल प्रालिको रुपमा कम्पनीको नाम परिणत गरेको थियो । 

एक्जियटा ग्रुप बेर्हदले प्राप्ति गरेको गरी रेनल्ड होल्डिङ लिमिटेड अफ इन्डिजको नाममा ८० प्रतिशत र सुभिनेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २७ अर्ब २२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १५ अर्ब २२ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १२ अर्ब रुपैयाँ रेटिङ गराएको हो । कम्पनीले दीर्घकालीन कर्जामा एलए र अल्पकालीन कर्जामा एवान रेटिङ पाएको छ ।

कम्पनीको आम्दानी पछिल्ला दिनहरुमा निरन्तर घटेको छ । नेपालको ५० प्रतिशत भ्वाइस क्षेत्रको हिस्सा रहेको एनसेलले सन् २०२२ मा ५७ प्रतिशत आम्दानी डाटाबाट गरेको थियो ।


क्लिकमान्डु