निजी क्षेत्रले दिएको सुझाव सरकारले नमान्दा अर्थतन्त्रमा समस्या आयोः चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले दिएको सुझाव सरकारले नमान्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।

नेपाल जग्गा व्यवसायी महासंघले आइतबार आयोजना गरेको रियल इस्टेट व्यवसायी वृहत भेलामा निजी क्षेत्रले दिएको सुझाव सरकारले नमान्दा अर्थतन्त्रमा समस्या आएको बताएका हुन् ।

कोरोना तथा रूस-युक्रेनबीचको द्वन्द्वले नेपाल मात्र नभएर विश्वभर अर्थतन्त्रमा समस्या आएको छ ।

‘अर्थतन्त्रमा देखिएको समस्याबाट कसरी अगाडि बढ्न सकिन्छ भनेर निजी क्षेत्रले सरकारलाई सुझाव पेश गरेको थियो । तर, सरकारले निजी क्षेत्रले दिएको सुझाव आफ्ना स्वार्थको विषय समेटिएको भन्दै आक्षेपसमेत लगाएर निजी क्षेत्रको सुझाव समेटिएन । जसले गर्दा अर्थतन्त्रमा समस्या आयो,’ उनले भने ।

निजी क्षेत्रले दिएको सुझाव सम्बोधन नगरी आफ्नो तरिकाले नीति लागू गर्दा अर्थतन्त्र बिग्रिएको बताउँदै उनले सरकारले अबका दिनमा निजी क्षेत्रको सुझावलाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे ।

निजी क्षेत्रको सुझावलाई नसमेट्दा अर्थतन्त्रमा समस्या आएको भन्नेबारे पछिल्ला दिनहरूमा नीति निर्माण गर्ने निकायहरूले बुझ्न थालेका छन् । उनीहरूमा निजी क्षेत्रको सुझाव पनि सम्बोधन गर्नुपर्ने रहेछ भन्ने मानसिकताको विकास भएको ढकालको भनाइ छ ।

‘अहिले सरकारी निकायहरूले निजी क्षेत्रको सुझाव सम्बोधन गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ,’ उनले भने, ‘अबका दिनमा भने सरकारसँग सहकार्य गरेर अगाडि बढ्न सहज हुने अपेक्षा गरेको छु ।’

अर्थतन्त्रमा देखिएको समस्याले गर्दा मानिसहरूमा लगानी गर्नलाई कन्फिडेन्स आएको नदेखिएको उनले बताए । त्यसका लागि निजी क्षेत्रले विभिन्न सम्मेलन गरेर सुधार गर्दै लैजानुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु