सरकारले बजेटमा कामै गर्न सकेन, राष्ट्र बैंकको नीतिले अर्थतन्त्रमा केही राहत: स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमा भित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरे । उनले मुलुकको आर्थिक दूरावस्थाका लागि नेपाल राष्ट्र बैंकलाई मात्रै जिम्मेवार ठहर्याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताए ।
‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन । कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैँले गर्छु भनेका काम चाहीँ कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘ यो बजेट म ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु । धेरै कुराहरु असारसम्म गर्ने भनिएको थियो । केही कुराहरु साउनसम्म गर्छु भनिएको थियो । विभिन्न म्यादहरु कुनै पनि पूरा भएका छैनन् ।’
आफूहरुले अर्थमन्त्रीलाई शंकाको लाभ दिएको भए पनि त्यस अनुसार काम नभएको उनले बताए । ‘हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो । तर त्यो स्पिरिट अनुसार काम भएको छैन’ उनले भने ।
वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराए पनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए ।
‘यस्तो सरकारी नैराश्यताका बीच पनि राष्ट्र बैंकले केही कसिला नीतिहरुलाई खुकुलो गरेको छ । त्यसको म स्वागत गर्न चाहन्छु’ उनले भने, ‘अर्थतन्त्रमा यसले केही राहत मिलेको छ । तर आर्थिक दूरावस्थाका लागि खालि केन्द्रीय बैंकलाई मात्रै जिम्मेवार ठहर्याउने परिपाटीबाट हामीले छुटकारा पाउनै पर्छ ।’