जटिल अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सबैको प्रयास आवश्यकः अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिसँगको भेटमा अध्यक्ष अग्रवालले बजारलाई चलायमान बनाउन आवश्यक रहेको बताए।

उनले विदेशी मुद्रा सञ्चितिमा दबाब पर्दा लिइएको नीति, कोभिड १९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको बताए ।

आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा जोड दिए ।

अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ’ उनले भने ।

अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पुँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उनको भनाइ छ । राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने उनले बताए ।


क्लिकमान्डु