दसैंमा दुई पाङ्ग्रे सवारी खरिदमा छुट: १० लाख र सुनदेखि जापान भ्रमणसम्मको अफर



काठमाडौं । दसैं नजिकिँदै गर्दा दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्नका विभिन्न अफर सार्वजनिक गरेका छन् । नेपालमा विभिन्न प्रकारका मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनीहरुले कम्तिमा पनि १० हजारदेखि ४० हजार रुपैयाँसम्म नगद छुटसहितको अफर सार्वजनिक गरेका छन् ।

आर्थिक संकुचनका कारण अधिकांश व्यापार व्यवसाय चाडपर्वको माहोलमा पनि चलायमान हुन सकेको छैन । वार्षिक कारोबार हुनेमध्ये ४० प्रतिशत दसैंको माहोलमा हुने गरेकोमा आर्थिक संकुचनले गर्दा व्यापार व्यवसाय खुम्चिएको व्यवसायीहरुको भनाइ छ ।

गत वर्ष आयात प्रतिबन्ध तथा संकुचनले गर्दा व्यापार व्यवसाय कम गरेका सवारी साधन कम्पनीहरुले यो वर्ष ग्राहक तथा व्यापार बढाउनका लागि अफर सार्वजनिक गरेका छन् । कम्पनीहरुले उच्च प्रतिस्पर्धासहित नगद छुटको व्यवस्था गरेका छन् । तर, बजारमा भने मोटरसाइकल तथा स्कुटरको व्यापार कम हुँदै गएको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार बढ्दो बेरोजगारीले विदेश पलायन बढेको छ । युवाहरु पलायन हुँदा त्यसको प्रत्यक्ष असर दुई पाङ्ग्रे सवारी साधनको व्यापारमा परेको छ । व्यापार कम भएपनि होन्डा, यामाहा, टीभीएस, भेस्पा, अप्रिला, सुजुकीलगायत अन्य ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको अफर सार्वजनिक गरेका छन् ।

कुन कम्पनीको कस्तो अफर ?

होन्डाः होन्डा ब्रान्डको दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ प्रालिले दसैंलक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैंमा १० लाखको अफर सार्वजनिक गरेको छ ।

कम्पनीले स्क्राच कार्डमार्फत् १० लाखसम्मका नगद उपहार जित्न सक्ने अफर ल्याएको छ । त्यससँगै थप १० हजार रुपैयाँको स्क्रयाच र पाँच वर्षको एएमसी मूल्य १२ हजार ५ सय रुपैयाँ पाउने अफरको व्यवस्था गरेको छ । कम्पनीले बीग बाइकमा एक लाख रुपैयाँसम्म छुटको अफर सार्वजनिक गरेको छ ।

यामाहाः यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता यामाहा फेस्टिभ सेलिब्रेसन अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै प्रकारका मोटरसाइकलमा ८ हजारदेखि १ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ ।

कम्पनीले सबै प्रकारका स्कुटरमा ६ हजारदेखि १ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ । साथै, कम्पनीले हरेक दिन यामाहा ज्याकेट, हप्तामा आइफोन १४ र मासिक जापान जान पाउने अफर सार्वजनिक गरेको छ ।

सुजुकीः सुजुकी ब्रान्डको मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता भीजी अटामोबाइलले विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले बाडौं खुसी चढौं सुजुकी नारासहित बम्पर अफरमार्फत् १० ग्राम सुन जित्न सक्ने जनाएको छ । कम्पनीले सबै प्रकारका मोटरसाइकल तथा बाइकमा १० हजार नगद छुट दिने भएको छ ।

कम्पनीले शून्य ब्याजदरमा सवारी साधन खरिद गर्न सक्ने जनाएको छ । त्यससँगै कम्पनीले एक्सचेन्जको पनि व्यवस्था गरेको छ । कम्पनीअनुसार सुजुकीको सवारी साधन एक्सचेन्जमा १५ हजार रुपैयाँ छुट, अन्य ब्रान्डको सवारी साधनको एक्सचेन्जमा १० हजार रुपैयाँ छुट र एक वर्ष सडक कर निःशुल्क हुने अफर सार्वजनिक गरेको छ ।

टीभीएसः नेपालको लागि टीभीएस ब्रान्डको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले हर मोडमा उमङ्ग मात्र टीभीएस हैन, सम्बन्ध हो अफर सार्वजनिक गरेको छ । कम्पनीले टीभीएस ब्रान्डको मोटरसाइकल तथा स्कुटरको खरिदमा विभिन्न अफर ल्याएको छ ।

कम्पनीले नकिन्दै १ लाख रुपैयाँसम्म जित्ने मौकाको अफर सार्वजनिक गरेको छ । त्यसैगरी, कम्पनीले किन्दा ५ लाख रुपैयाँसम्म र हरेक महिना १०० प्रतिशत क्यासब्याकको अफर ल्याएको जनाएको छ ।

कम्पनीअनुसार बम्पर उपहारमा १० लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीले थप अफरमा एक्स्चेन्जमा १० हजार रुपैयाँ, शून्य ब्याजदर र २५ प्रतिशत डाउन पेमेन्टमा सवारी साधन खरिद गर्न सक्नेछन् ।

हिरोः हिरो ब्रान्डको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले हिरो पर्वमा गर्व अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी, बम्पर उपहारमा एक लाख नगद पुरस्कार र १ लाख सम्मको स्क्रायाच कार्डको अफर सार्वजनिक गरेको छ ।

भेस्पा र अप्रिलाः भेस्पा र अप्रिला ब्रान्डको नेपालको लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्पले भेस्पा र अप्रिलासँग उपहारको तरंग दसैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले स्कुटरको खरिदमा १० हजार नगद छुट, हप्तामा अनर ९० (पाइभ जी) र बम्पर अफरमार्फत् भेस्पा स्कुटर खरिदमा इटली भ्रमणमा जान सक्नेछन् । त्यस्तै, कम्पनीले एक्स्चेन्जमार्फत् थप १० हजार रकम र शून्य ब्याजदरमा स्कुटर खरिद गर्न सक्नेछन् ।

सुपर सोकोः विद्युतीय सुपर सोको मोटरसाइकल तथा स्कुटरले पनि यो वर्ष दसैंलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैंअफरमार्फत् ४० हजार छुट र थप मूल्यमा १० हजार छुट दिने जनाएको छ ।

त्यसैगरी, कम्पनीले इएआईमा ३ हजार ९५८ तिरेर हेल्मेट निःशुल्कमा बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । साथै, एक वर्षको सडक दस्तुर, २ वर्ष निःशुल्क सर्भिसिङको व्यवस्था गरेको छ । उक्त अफर असोज ७ गतेदेखि लागू भई आगामी ३० गतेसम्मको लागि मात्र रहेको छ ।


क्लिकमान्डु