सुपारी भारत निकासीका लागि पहल गर्न सरकार तयार छः उद्योगमन्त्री
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताए ।
उनले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताए ।
उनले उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्रलेखेर सहजीकरण गर्ने विषयमा तयार रहेको बताए । नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले नचिन्ने उनले बताए ।
मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरीय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताए ।
भारत निर्यातको लागि मन्त्रालयले सहजीकरण गर्ने उनको भनाइ छ । नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भएकाले नेपाली सुपारीको बजार नेपाल नभएको उनको तर्क छ ।
मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको बताए । नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउने भएकाले समस्या रहेको उनको भनाइ छ ।
नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरु बेरोजगार हुने सम्भावना रहेको उनले बताए । उनले नेपालमा उत्पादित सुपारी भारत निर्यातको लागि सरकार सहजीकरण गर्न तयार रहे पनि केही व्यवहारिक अफ्ठ्यारो रहेको बताए ।