आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण उठाउन १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
बोलकबोल प्रक्रियाबाट ८ वर्षे अवधिको विकास ऋणपत्र बिक्री गर्न राष्ट्र बैंकले प्रस्ताव आह्वान गरेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिक मध्ये कम ब्याजदर कबोल गर्नेलाई ऋणपत्र बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बिहीबार अपरान्ह ३ बजे बोलकबोल माध्यमबाटबाट कम ब्याजदर कबोल गर्नेलाई विकास ऋणपत्र बिक्री गर्नेछ।
सरकारले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने ऋणपत्रको सावाँ रकम ८ वर्षपछि फिर्ता हुनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ९ पटक विकास ऋणपत्र बिक्री गर्दै ७२ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । औषतमा ६.९७ प्रतिशत ब्याजदर आन्तरिक ऋण उठाउँदा राष्ट्र बैंकले गत साउन १८ गते ६.५ प्रतिशत र बाकीँ सबै बोलपत्रमा ७ प्रतिशत ब्याज दिएको छ ।


क्लिकमान्डु