वाणिज्य बैंकका सीईओहरुसँग राष्ट्र बैंकको छलफल
काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो वित्तीय अवस्थाका विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्ने भएको छ ।
राष्ट्र बैंकले बुधबार दिउँसो सवा ३ बजे छलफलका लागि होटल अलफ्टमा बोलाएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।
चालु आर्थिक वर्षको एकीकृत निर्देशन जारी गर्ने तयारीमा रहेको राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको धारणा सुन्न छलफलमा बोलाएको राष्ट्र बैंकका एक अधिकारीको भनाइ छ ।
‘यो नियमित प्रकृतिको छलफल हो । राष्ट्र बैंकको वार्षिक कार्यक्रममा उल्लेख भए अनुसार सुपरभिजन विभागले पछिल्लो अवस्थाका विषयमा छलफल गर्न सीईओहरुलाई बोलाएको हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने,‘पछिल्लो आर्थिक अवस्था, राष्ट्र बैंकले नियमले पारेको असर, कर्जा असुलीको अवस्था लगायतका विषयमा जानकारी लिन पनि सीईओसँग छलफल गर्न लागिएको हो ।’
छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र, रेगुलेसन विभाग प्रमुख गुणाकर भट्ट, सुपरभिजन विभाग प्रमुख देवकुमार ढकाल लगायतका राष्ट्र बैंकका उच्च अधिकारी सहभागी हुने छन् ।