खराब मौसमले सबै माउन्टेन फ्लाइट रद्द, पोखरामा उडान हुन नसक्दा विमानस्थलमा यात्रुको भीड



काठमाडौं । खराब मौसमका कारण बुधबार आन्तरिक उडान प्रभावित भएको छ । आइतबार काठमाडौंबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएको छ ।

काठमाडौं विमानस्थलबाट हरेक दिन विहान हुने उक्त उडान आज भने एउटा पनि भएन । आन्तरिक वायुसेवाले दैनिक पर्यटकीय सेवाका लागि यो उडान गर्दै आएका छन ।

मौसमको खराबीका कारण काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भइरहेको छ । बुधबार काठमाडौैबाट हुने पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको छ । विहान मौसम खुलेको समयमा पोखराबाट ५ वटा उडान काठमाडौं आयो भने ४ वटा मात्रै पोखरामा अवतरण गर्न सकेको छ भने अन्य उडान हुन नसकेको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए।

उनका अनुसार भरतपुरमा एउटा मात्रै उडान हुन सक्यो भने तुम्लिङटारमा एउटै पनि उडान हुन सकेन । अन्य विमानस्थलमा भने ढिलो गरेर भएपनि उडान भइरहेको छ ।

पोखरामा उडान हुन नसक्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिड बढेको छ । पोखराबाट पनि काठमाडौं आउन नसकेको कारण वायसेवा कम्पनीलाई यात्रुको व्यवस्थापन मिलाउन गाह्रो भइरहेको छ ।


क्लिकमान्डु