साढे ८४ करोड ऋण नतिरेपछि सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलामीमा चढ्यो



काठमाडौं । समयमै ऋण असुल नगरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकले सुधिर बस्नेतको ललितपुरको इमाडोलमा रहेको कोहिनुर हिल हाउजिङको लिलामी प्रक्रिया अगाडि बढाएको छ । गत वर्षको माघमा सञ्चय कोषले ऋण नतिरेको भन्दै उक्त हाउजिङ लिलामीको कार्य अगाडि बढाएको थियो ।

त्यस्तै, सञ्चय कोषसँगै राष्ट्रिय वाणिज्य बैंकले पनि कर्जा चुक्ता नगरेमा धितो रहेको सम्पत्ति लिलाम प्रक्रिया अगाडि बढाएको छ । बैंकले ८४ करोड ६५ लाख ३३ हजार रुपैयाँबराबरको सम्पत्ति लिलाम गर्ने गरी सूचना निकालेको छ ।

सुधिर बस्नेतले हाउजिङको ३३ वटा युनिट धितो राखेर ऋण लिएका थिए । तर, समयमै ऋण तिर्न नसकेपनि बैंकले उक्त ३३ वटा युनिट बिक्री गर्ने गरी कार्य अगाडि बढाएको हो ।

बैंकअनुसार कर्जा लिने ग्राहकले म्याद भित्र कर्जा चुक्ता नगरी लिखित तथा मौखिक तर-ताकेता गर्दासमेत कर्जा चुक्ता नभएकfले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी सम्पूर्ण साँवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुरसमेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिन सक्ने जनाएको छ ।

त्यस्तै, सूचनाबमोजिम लिलाम बिक्री हुन नसकेका धितो सम्पत्ति बैंकको अनुकूल समयमा बैंक आफैंले सकार गरिलिन सक्ने वा ऋण असुली न्यायाधीकरणमा मुद्दा दायर गर्न सकिनेछ । सूचनाबमोजिम ३५ दिनभित्र चुक्ता नभएका कर्जाहरुको बैंकमा धितो रहेको सम्पत्ति सकार गरिलिन इच्छुक ग्राहकहरुले ३६औं दिनदेखि ५०औं दिनभित्र सम्बन्धित शाखा कार्यालयमा कार्यालय समयभित्र आइपुग्ने गरी सर्तहरुको अधिनमा रही सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।


क्लिकमान्डु