बझाङ केन्द्रबिन्दु भएर ७ पटक भूकम्पको धक्का, केही घाइते



तस्बिर स्रोत: साइपाल एफएम

काठमाडौं । मंगलबार दिउँसो करिब दुई घण्टाको अन्तरालमा सुदूरपश्चिममा ७ पटक भूकम्पको धक्का महसुस भएको छ ।

बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि ५ बजेर १९ मिनेटसम्म सम्ममा ७ पटक भूकम्पका धक्का महसुस भएका हुन् ।

दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । ५.३ म्याग्निच्युडको भूकम्पको धक्काको केन्द्रबिन्दु बझाङको तालकोट आसपासको क्षेत्रमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पहिलो धक्का महसुस भएको २६ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो । ३ बजेर ६ मिनेटमा मापन गरिएको भूकम्प ६.३ म्याग्निच्युडको रहेको थियो । जसको केन्द्रबिन्दु अघिल्लो पटकको केन्द्रबिन्दुभन्दा केही तल भाटेखोला छेउमा रहेको थियो ।

दोस्रो पटकको धक्काको ७ मिनेटपछि ३ बजेर १३ मिनेटमा तेस्रो पटक भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ । ५.१ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रबिन्दु भाटेखोला, तालकोट र रिलु क्षेत्रको आसपासमा रहेको थियो ।

त्यस्तै, चौथो पटक ३ बजेर ४५ मिनेटमा भूकम्पक मापन भएको थियो । तेस्रो पटकको धक्काको ३२ मिनेटपछि ४.१ म्याग्निच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ ।

चौथो पटकको धक्काको केन्द्रबिन्दु लेखगाउँ र कडेलको आसपासमा रहेको छ ।

त्यस्तै, पाँचौ पटक ४ बजेर २८ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प महसुस भएको छ । उक्त धक्काको केन्द्रबिन्दु जिल्लाको भाटेखोला, रिलु र तालकोट आसपास रहेको छ ।

पाँचौ धक्का महसुस भएको ३ मिनेटपछि ४ बजेर ३१ मिनेटमा छैठौं धक्का महसुस भएको केन्द्रले जनाएको छ । ४.३ म्याग्निच्युडको मापन गरिएको उक्त धक्काको केन्द्रबिन्दु भने जिल्लाको हेमन्तवाडा र कडेल क्षेत्र आसपास रहेको छ ।

बझाङमा सातौं पटक भने ५ बजेर १९ मिनेटमा भूकम्प महसुस भएको छ । यसपटक ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । सातौं पटकको भूकम्पको धक्काको केन्द्रबिन्दु जिल्लाको हेमन्तबडा र भाटेखोला आसपासमा रहेको केन्द्रले जनाएको छ ।

ति भूकम्पका धक्का पश्चिमी क्षेत्रसहित भारतको दिल्लीसम्म महसुस गरिएको जनाइएको छ ।

भूकम्पका कारण बझाङमा विद्यालय, वडा कार्यालय, घरहरुमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पकामा परि ७ जना घाइते भएका छन् । बझाङमा ६ जना र अछाममा एक जना घाइते भएका हुन् ।


क्लिकमान्डु