विदेशबाट दसैंमा नेपाल आउँदा के-के ल्याउन पाइन्छ ?
काठमाडौं । सरकारले विदेशबाट दसैंको समयमा नेपाल आउने यात्रुहरुलाई सामग्री ल्याउन सीमा तोकेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दसैं, तिहार तथा छठमा विदेशबाट आउने यात्रुहरुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा व्यक्तिगत प्रयोजनमा राजस्व तिरेर ल्याउन सकिने उल्लेख गरिएका सामान बाहेक अन्य सामान नल्याउन अनुरोध गरेको छ ।
पछिल्लो समय साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइल्याण्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिहरुले मेरो घरमा पुर्याउने उपहार हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउनुहुन्छ ।
तपाईंलाई केही पैसा सहयोग गर्छु भन्दै प्रलोभनमा पारी विभिन्न सामानहरु (जस्तै ल्यापटप, मोबाइल, सुन, घडी आदि) पठाउने र यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्तिहरु कानुनी कारबाहिमा पर्ने घटना बढ्दै गएकोले सचेत हुन कार्यालयले आग्रह गरेको छ।
यात्रुहरुले मापदण्डभन्दा बढी मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मालवस्तु जफत हुने तथा सोको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने गरेका छन् । त्यसैले, कार्यालयले सूचना जारी गर्दै ल्याउन पाउने सामग्रीको सीमा तोकेको छ ।
विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धि पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।
यसैगरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्राम सम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँने व्यवस्था रहेको छ ।
गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।
श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ ।