यी विदेशी विश्वविद्यालयमा पढेकाले त्रिविबाट सहजै पाउने छन् समकक्षता



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो समकक्षतासम्बन्धि कार्यविधिलाई संशोधन गरेको छ । त्रिविको कार्यकारी परिषद्को भदौ १३ को बैठकले कार्यविधि संशोधन गर्ने निणय गरेको हो ।

कार्यविधिको दफा नम्बर ४ लाई संशोधन गरिएको त्रिविले जनाएको छ । संशोधिन दफाअनुसार अब टाइम्स हायर एजुकेसन रेकिंगको विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तरमा १ देखि ५ सयसम्म रहेका विश्वविद्यालयको समकक्षता सहजै दिइने व्यवस्था गरिएको हो ।

जसमा विद्यावारिधीको उपाधि (पीएडी) प्राप्त गर्ने व्यक्तिले कागजात पेस गरेमा समकक्षता दिइने छ । स्नातक, स्नातकोत्तर र दर्शनाचार्य तहको उपाधि प्राप्त गरेको व्यक्तिको हकमा कागजात पेस गरेमा अध्ययन संस्थान, संकायले निर्धारण गरेको पाठ्यभार र क्रेडिट आवर पुगेको अवस्थामा विषय वा शिक्षक तोकी समकक्षता दिन सकिनेछ ।

तोकिए बमोजिम नभएको अवस्थामा भने तह वा सम्बन्धित विषय भनेर मान्यता दिन सकिने पनि संशोधित कार्यविधिमा उल्लेख गरिएको छ ।

संशोधित कार्यविधिकाअनुसार अब टाइम्स हायर एजुकेसन र्‍याङ्किङको १ देखि ५ सयसम्मको सूचीमा परेका अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सहजै समकक्षता पाउनेछन् । विगतमा जस्तो विभिन्न कागजात जुटाउनुपर्ने झन्झट नहुने गरि कार्यविधिलाई संशोधन गरिएको छ ।

कुन-कुन विश्वविद्यालयमा अध्ययन गर्नेले पाउनेछन् सहजै समकक्षता ?

संशोधित कार्यविधिकाअनुसार टाइम्स हायर एजुकेसन र्‍‍यांकिङको १ देखि ५ सयसम्मको सूचीमा परेका अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सहजै समकक्षता पाउनेछन् । यसका लागि सम्बन्धित विश्वविद्यालयमा अध्ययन गरेको विषयसँग सम्बन्धित कागजातहरु बुझाएमा हुने त्रिविको संशोधित कार्यविधिमा उल्लेख छ ।

संशोधित कार्यविधिमा उल्लेख गरिएअनुसार टाइम्स हायर एजुकेसन र्‍यांकिङका शीर्ष १ देखि ५ सयसम्म विभिन्न देशका विश्वविद्यालयहरु परेका छन् । हरेक वर्ष यो सूची सार्वजनिक हुने गर्छ । यस वर्ष २७ सेप्टेम्बरमा यो सूची सार्वजनिक गरिएको थियो ।

यस वर्ष सार्वजनिक गरिएको सूचीमा ५ सय शीर्ष विश्वविद्यालयभित्र विभिन्न देशका विश्वविद्यालयहरु परेका छन् । शीर्ष स्थानमा बेलायतको अक्सफर्ड विश्वविद्यालय रहेको छ । त्यस्तै, शीर्ष २५ स्थानमा हेर्ने हो भने बेलायतका ४ वटा, अमेरिकाका १६ वटा, स्वीटजरल्याण्डको १ वटा, चीनको २ वटा, सिंगापुरको १ वटा र क्यानडाको एक विश्वविद्यालय रहेको छ ।

शीर्ष १ देखि ५ सयसम्म विश्वका कुन कुन विश्वविद्यालयहरु छन् भन्ने यो वेबसाइटमा गएर हेर्न सकिन्छ


क्लिकमान्डु