आवश्यक परे महानगर गौरव र स्वर्णिम योजना सञ्चालनको कार्यविधि बनाउनुः अधिकारी



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिय योजना सञ्चालन विधि आवश्यक परे कार्यविधि बनाउन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गरेका छन् ।

सिनियर म्यानेजमेन्ट टीम मिटिङ् (एसएमटी) मा अहिलेसम्मका प्रगतिको जानकारी लिएपछि काममा थप सहजता ल्याउन कार्यविधिको बाटो देखाएका हुन् ।

एक पटक सञ्चालन गर्नु पर्ने कार्यक्रमका लागि नीतिगत निर्णय भए पुग्छ । एउटै प्रकृतिको काम लामो समयसम्म चलाइराख्नु पर्ने भए कार्यविधि आवश्यक पर्छ । उनले, कार्यक्रम सञ्चालनको अवधि, यस अघि भएका त्यस प्रकृतिका काम, सहभागिता, बजेटको व्यवस्था, बजेटको स्रोत जस्ता विषयका आधारमा कार्ययोजना बनाउन आग्रह गरे ।

प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, आफू मातहतका कर्मचारीलाई काममा लगाउने दायित्व विभागीय प्रमुखको रहेको बताए । ‘कतिपय कामका लागि जनशक्ति पुगेका छैनन् । जनशक्ति छैनन् भनेर काम रोक्न पनि मिल्दैन । यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी विभागीय प्रमुखले बहन गर्नुपर्छ’ उनले भने ।

इन्टर्नमा आएका विद्यार्थीहरुले ३३ प्रकारका कार्यविधिको मस्यौदा तयार पारेका छन् । विभागबाट मागेर होइन, कानुन विभागले काम र त्यसको सञ्चालन विधिका आधारमा मस्यौदा बनाएको हो ।

‘नभइ नहुने भए मात्र कानुन बनाउनु पर्ने, कार्यान्वयनमा नआउने कानुन बनाएर समय खर्च गर्नु नहुने बताउनुभयो’ उनले भने ।
सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेले, अनलाइन टिप्पणीका लागि डिजिटल हस्ताक्षर प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढ्ने बताए ।

खरिद एकाईका प्रमुख नमराज ढकालले, मूल्याङ्नका लागि फाइल थुप्रिएर नबसेको जानकारी गराए । वडामा रकम पठाए पनि साना–साना काम गर्न विभागमा माग हुने गरेको छ । यसले विभागका नियमित काममा बाधा गरेको छ । पूर्वाधार विकास विभागका प्रमुख राम थापाको भनाइ थियो ।

सम्पदा तथा पर्यटन विभागले दशैँ, तिहारलगायत ठूला पर्वमा मठ मन्दिरको सरसफाइ, रंगरोगनलगायत कामका लागि माग संकलन गर्न पत्राचार गरिएको जानकारी गराए । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले, डेङ्गी नियन्त्रणका लागि आउँदो १ महिना थप काम सक्रिय भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।


क्लिकमान्डु