लुम्बिनी सेरामिक्सले ३ अर्ब १८ करोड कर्जा लिँदै



काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा निर्माणाधिन लुम्बिनी सेरामिक्स लिमिटेडले उद्योग स्थापनाका लागि ३ अर्ब १८ करोड कर्जा लिने भएको छ ।

सन् २०१९ मा नीजि कम्पनीका रुपमा स्थापना भएर २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको लुम्बिनी सेरामिक्सले साढे तीन अर्बको लगानीमा सेरामिक्स उद्योग स्थापना गरिरहेको छ ।

मंगलम ग्रुपका केही लगानीकर्ताको समेत लगानी रहेको यस कम्पनीले ग्लेज्ड भिट्रिफाइड फ्लोरिंग र टायलको उत्पादन गर्नेछ । ३१ प्रतिशत सेयर स्वामित्वसहित प्रमुख लगानीकर्ता समेत रहेका कम्पनीका अध्यक्ष सुभ्रत धितालसँगै कम्पनीमा श्याम सुन्दर खेतान, आशुतोष खेतान, शशि चुरिवाल र सिनी खेतानको यस कम्पनीमा १५.९ प्रतिशत लगानी रहेको छ । यस कारखानाबाट वार्षिक ४ करोड १० लाख स्क्वायर फिट टायल उत्पादन हुने लक्ष्य रहेको छ ।

अहिले कम्पनीको भौतिक संरचना निर्माण भइरहेको छ भने मेसिनहरु आयात र स्थापना गर्ने क्रममा रहेको छ । सन् २०२४ को अन्त्यसम्ममा यसका लागि आवश्यक लागत जुटिसक्ने कम्पनीले जनाएको छ । सन् २०२३ को मध्य जुलाईसम्म भने कम्पनीले १४ प्रतिशत आर्थिक प्रगति हासिल गरेको छ ।

साढे ३ अर्बको लागतमा निर्माण हुने अनुमान गरिएको लुम्बिनी सेरामिक्सका लागि ७५ प्रतिशत लागत कर्जाबाट जुटाइने बताइएको छ । जसका लागि हाल कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँको कर्जा लिने भएको छ ।

लुम्बिनी सेरामिक्सले ३ अर्ब १८ करोड रुपैयाँ कर्जा सुविधा लिनका लागि रेटिंग एजेन्सी ईक्रा नेपालबाट रेटिंग गराएको हो । जसमा २ अर्ब ५० करोड रुपैयाँको कोषमा आधारित दीर्घकालिन कर्जा सुविधाका लागि कम्पनीले एलबि प्लस रेटिंग पाएको छ । त्यस्तै, ५५ करोड ९० लाख रुपैयाँको कोषमा आधारित अल्पकालिन कर्जा सुविधा र १२ करोड १० लाख रुपैयाँको कोषमा आधारित नरहेको अल्पकालिन कर्जा सुविधाका लागि कम्पनीलाई रेटिंग एजेन्सीले ए फो रेटिंग दिएको छ ।


क्लिकमान्डु