पेट्रोलियम पदार्थको मूल्य बढाएपछि प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई साता लामो विदेश भ्रमणपछि पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
अमेरिका र चीन भ्रमण पूरा गरि शनिबार बिहान काठमाडौं आएका प्रधानमन्त्री दाहालले आइतबार दिउँसो बैठक बोलाएका हु्न् ।
शनिबार रातिबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्रीले मध्याह्न साढे १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
पेट्रोलियम पदार्थलाई स्वचालित मूल्य प्रणालीमा लिनु पर्छ भन्ने सरोकारवाला निकायहरूको समेत सुझावको नेपाल आयल निगमले केहि महिना अघि देखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर केही समय यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, एलपी ग्यासमा मूल्यवृद्धि भएको र सोही अनुसार नेपाल आयल निगमले मुल्यवृद्धि गरेको हो ।
नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड आउन लागेको अवस्थालाई ख्याल गर्दै आयल निगमले सरकार, राजनीतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गर्नु पर्नेमा त्यो नभएको भन्दै प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले यो विषयमा सम्बन्धित जिम्मेवार निकायका पदाधिकारीसँग छलफल गरि १२:३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको सचिवालयले जनाएको हो ।
निगमले चाडबाडको मुखमा पेट्रोलिय पदार्थ र ग्यासको मूल्य उच्च वृद्धि गरेपछि सरकारको चर्को आलोचना भइरहेको छ ।